प्रबन्ध सम्पादकमा बस्नेत


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १२ गते । गोरखापत्र संस्थानका कार्यकारी सम्पादक जुनारबाबु बस्नेत गोरखापत्र दैनिकको निमित्त प्रबन्ध सम्पादक नियुक्त हुनुभएको छ । संस्थान व्यवस्थापनले उहाँलाई आइतबार सो जिम्मेवारी तोकेको हो ।
गोरखापत्र दैनिकको अर्थ ब्युरो प्रमुख तथा प्रमुख समाचारदाताको जिम्मेवारी सम्हालिसक्नुभएका बस्नेत २०५० सालमा उपसम्पादकबाट संस्थानको पत्रकारिता सेवामा प्रवेश गर्नुभएको हो । उहाँले पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर गर्नुका साथै त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा एमफिल अध्ययन गर्नुभएको छ । उहाँले इन्डियन इस्टिच्युट अफ मास कम्युनिकेसनबाट विकास पत्रकारितामा डिप्लोमा गर्नुभएको छ । त्रिविबाट राजनीति शास्त्रमा स्नातकोत्तर बस्नेतले अर्थशास्त्रमा स्नातकोत्तर पनि अध्ययन गर्नुभएको छ । उच्च शिक्षामा पत्रकारिता अध्यापन तथा पत्रकारिता प्रशिक्षणमा संलग्न बस्नेतले भारत, चीन, जापान र संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नुभएको छ ।