गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ९ गते । गोरखापत्र संस्थानका कार्यकारी सम्पादक जुनारबाबु बस्नेत गोरखापत्र दैनिकको निमित्त प्रबन्ध सम्पादकमा नियुक्त हुनुभएको छ । बिहीबारबाट लागूू हुने गरी उहाँले यो जिम्मेवारी पाउनुुभएको हो ।
गोरखापत्र संस्थान व्यवस्थापनले उहाँलाई बिहीबारबाट लागू हुने गरी दोस्रो पटक सो जिम्मेवारीमा नियुक्त गरेको हो । यसअघि २०७७ पुसबाट २०७८ साउन १७ गतेसम्म उहाँ निमित्त प्रबन्ध सम्पादकमा हुनुहुन्थ्यो ।
गोरखापत्रको मासिक प्रकाशन मुनामा सम्पादकको जिम्मेवारी सम्हालिरहनु भएकोमा  पुन: गोरखापत्रको प्रबन्ध सम्पादकमा नियुक्त हुनुभएको हो । गोरखापत्र संस्थानका निमित्त महाप्रबन्धक एवं गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराईले बस्नेतलाई निमित्त प्रबन्ध सम्पादकको जिम्मेवारीको पत्र प्रदान गर्नुभएको थियो। सो अवसरमा बस्नेतले गोरखापत्र सुधारका लागि सामूहिक कार्य महत्त्वपूर्ण हुने भएकाले आफू सबै सहकर्मीसँग सहकार्य गरी राम्रो काम गर्न क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । गोरखापत्र दैनिक अर्थ ब्युरो प्रमुख तथा प्रमुख समाचारदाताको समेत जिम्मेवारी सम्हालिसक्नुभएका बस्नेत २०५० सालमा उपसम्पादकबाट संस्थानको पत्रकारिता सेवामा प्रवेश गर्नुभएको थियो । यसैबीच  गोरखापत्र दैनिकका निमित्त प्रबन्ध सम्पादक गोकर्ण अर्याललाई बुधबार बिदाइ गरिएको छ । उहाँले ५८ वर्ष उमेरका कारण बिहीबारबाट अनिवार्य अवकाश लिनुभएकाले संस्थान व्यवस्थापनले बिदाइ गरेको हो ।

संस्थानका निमित्त महाप्रबन्धक एवं प्रधानसम्पादक भट्टराईले निमित्त प्रबन्ध सम्पादक अर्याललाई फूलमाला लगाई  बिदाइ गर्नुभयो । नेपाली पत्रकारिता समूहअन्तर्गत १०औँ तहका कार्यकारी सम्पादक अर्यालले वि.सं. २०५० पुस महिनाबाट सातौँ तहको उपसम्पादकबाट सेवा प्रवेश गर्नुभएको थियो । सो अवसरमा निमित्त महाप्रबन्धक एवं प्रधानसम्पादक भट्टराईले कर्मचारीहरूका लागि ‘अवकाश’ स्वाभाविक प्रक्रिया भएको बताउनुभयो । भट्टराईले आफ्नो जीवनको ऊर्जावान् समय संस्थानमा खर्चेर बिदाइ हुँदा नरमाइलो लागे पनि सबैका लागि अनिवार्य भएकाले अवकाश हुनुभएका अर्याल बहुगुणी व्यक्तित्व भएको बताउनुभयो ।
त्यस्तै निमित्त प्रबन्ध सम्पादक अर्यालले गोरखापत्रसँगको करिब २७ वर्ष आठ महिना दुई दिन आफ्ना लागि अविस्मरणीय भएको स्मरण गराउँदै कार्यसम्पादनका क्रममा भए गरेका तीता कुरालाई भुलेर अगाडि बढ्न सबैसँग आग्रह गर्नुभयो ।