इनरुवा, मङ्सिर १४ गते । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गोरखापत्र राष्ट्रकोे सम्पत्ति भएकाले यसको विकासका लागि प्रदेश सरकार साथमा रहेको बताउनुभएको छ । उहाँले प्रदेश सरकारका तर्फबाट गोरखापत्रलाई आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।
गोरखापत्र दैनिक र दी राइजिङ नेपालका सम्पादक तथा विभागीय प्रमुख, भाषाभाषी पृष्ठका संयोजक तथा प्रदेशका समाचारदाता सहभागी अनुशिक्षण कार्यक्रमलाई मङ्गलबार इटहरीमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले गोरखापत्रसित हातेमालो गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
गोरखापत्र एउटा सञ्चार माध्यम मात्रै नभएर जीवन्त इतिहास पनि भएको उहाँको भनाइ छ । गोरखापत्रले राष्ट्र भाषामा पनि समाचार सामग्री प्रकाशन गरेर देशलाई गुन लगाएको चर्चा गर्दै यसले भाषा, लिपि, संस्कार र संस्कृति बचाउनका लागि काम गरेको छ भन्नुुभयो । समुन्नत समाजको निर्माणमा समेत गोरखापत्रले योगदान गरेको उल्लेख गर्दै मुख्यमन्त्री राईले देशका आदिवासी जनजातिको भाषा–लिपिलाई महत्त्व दिन आवश्यक छ भन्नुुभयो । उहाँले सय वर्ष पुराना दस्तावेज देशका लागि सम्पत्ति भएकाले त्यसलाई थप संरक्षण गर्नुपर्ने पनि उहाँको जोड छ ।
कार्यक्रममा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले नेपाली पत्रकारिताको इतिहास र राष्ट्रको गौरवका रूपमा रहेको गोरखापत्रलाई डिजिटल स्मार्ट प्रकाशनका रूपमा विकास गरिने बताउनुभयो ।
अध्यक्ष सुवेदीले इतिहास लेखनको १२२ वर्षे अनुभव सँगालो भएकाले यसलाई थप विकसित गर्दै डिजिटल स्मार्ट प्रकाशनको तयारीमा जुटेको बताउनुभयो । डिजिटल स्मार्ट प्रकाशनलाई रोयल्टी तिरेर मात्र उपयोग गर्न पाउने गरी काम थालिएको उहाँले जानकारी दिनुुभयो ।
उहाँले आगामी फागुन ७ गतेपछि डिजाइनदेखि सामग्रीमा निकै सुधार गरिने र त्यसलाई प्रत्यक्ष रूपमा पाठकले समेत अनुभूत गर्ने बताउनुभयो । अध्यक्ष सुवेदीले गाउँ सहरमा गोरखापत्र अभियान कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । त्यसका लागि प्रत्येक प्रदेशमा नियमित प्रकाशन हुँदै आएको अङ्कभन्दा थप चार हजार अङ्क पत्रिका प्रकाशन गर्ने योजनामा रहेको जानकारी दिनुभयो । गोरखापत्र एउटा अखबार मात्र नभएर पत्रकारिता जगत् र राष्ट्रको गौरव भएको अध्यक्ष सुवेदीले बताउनुभयो । गोरखापत्र र यसका प्रकाशन कुनै दल वा सरकारका मात्र नभएर सिङ्गो राष्ट्रको सम्पत्ति भएकाले सोहीअनुसार सबैको साथ र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।
अध्यक्ष सुवदीले भन्नुभयो, “गोरखापत्र गौरवशाली संस्था हो, यसलाई अझ विश्वसनीय, पाठक र प्रविधि तथा व्यावसायिक रूपमा विकास गर्नुपर्छ । यसका लागि सबैको साथ र सहयोग आवश्यक छ । हाम्रो भविष्य सुरक्षित र सुन्दर बनाउन गोरखापत्रलाई अझ राम्रो बनाउनुपर्छ ।”
गोरखापत्रका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराईले गोरखापत्रले पुष्टि गरेको समाचार सत्यतथ्य र विश्वसनीय सूचना मात्रै लेख्ने भएकाले पत्रकारिताको गौरवका रूपमा काम गरेको बताउनुभयो ।
गोरखापत्रले स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई जोड्ने पुलको काम गर्ने उहाँले बताउनुभयो । सरकारको स्वामित्व भए पनि गोरखापत्र देशको गौरव भएको र पाठकको सम्पत्ति भएको उहाँको भनाइ छ । गोरखापत्रले सरकार र नागरिकलाई जोड्ने पुलका रूपमा काम गर्दै आएको र थप यसलाई प्रभावकारी बनाइने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गोरखापत्रमा अनुसन्धानमूूलक सामग्रीलाई स्थान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । गोरखापत्र विश्वसनीय र सत्यतामा आधारित भएको पत्रिका भएकाले यो मुलुकको गहना भएको उहाँले बताउनुभयो ।
मोरङका प्रजिअ काशीराज दाहालले नागरिकको जनजीविकासँंग जोडेर सूचना र समाचार दिँदै आएकाले गोरखापत्रले अझै पाठकको चाहना र आवश्यकतासहित विकासको समाचारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
उद्योग वाणिज्य सङ्घ इटहरीका वरिष्ठ उपाध्यक्ष दिवश पोखरेल, शेर्पा भाषा पृष्ठका संयोजक आंदवा शेर्पा, ताजपुरीया भाषाका तेजेन्द्र ताजपुरीया, उराँव भाषाका बेचन उराँव, किसान भाषाका भीम किसानसहित लगायतले विभिन्न सुझाव दिनुभएको थियो ।
संस्थानका कार्यकारी अध्यक्ष सुवेदीको अध्यक्षतामा आयोजित अनुशिक्षण कार्यक्रममा दी राइजिङ नेपालका नि. प्रधानसम्पादक भीमसेन थपलिया, उत्पादन विभागका प्रमुख अर्जुन बस्नेत, नयाँ नेपाल तथा समावेशीका संयोजक कुमारविवेकानन्द मिश्र, वितरण विभाग प्रमुख सोम घले, प्रशासन विभाग प्रमुख ओम भुसाललगायतले प्रशिक्षण दिनुभएको थियो ।