नेपालगञ्ज, भदौ २१ गते । गोरखापत्र संस्थानका नि.महाप्रबन्धक तथा नि.प्रधानसम्पादक शिवकुमार भट्टराईसहितको संस्थानको व्यवस्थापन टोलीले बाँकेको कोहलपुरमा निर्माण भइरहेको गोरखापत्रको कोहलपुर प्रकाशन गृहको निर्माण कार्यबारे स्थलगत निरीक्षण गरेको छ ।

कोहलपुर–३, मैटहवामा प्रकाशन गृहको निर्माण कार्यको सोमबार निरीक्षण गर्दै संस्थानका नि.महाप्रबन्धक तथा नि.प्रधानसम्पादक भट्टराईले बाँकी रहेको निर्माण कार्य छिटोभन्दा छिटो पूरा गरेर पत्रिका प्रकाशन प्रारम्भ गर्न निर्देशन दिनुभयो ।

उहाँले कोभिड–१९ का कारण प्रकाशन गृहको निर्माण कार्यमा ढिलाइ भएको जनाउँदै अब बाँकी रहेको काम तीव्र गतिमा सम्पन्न गरेर पत्रिकाको प्रकाशन सुरु गर्नुपर्ने बताउनुभयो । प्रेस भवन र सीटीपी कक्षको काम बाँकी रहेकाले उक्त काम तत्काल पूरा गर्न निर्माण कम्पनी उमा एन्ड कम्पनी जेभीका प्रतिनिधि कृष्ण पोखरेललाई निर्देशन दिँदै उहाँले अब कुनै पनि बहानामा ढिलाइ सह्य नहुने बताउनुभयो ।

निर्माण कम्पनीका प्रतिनिधि पोखरेलले छिटोभन्दा छिटो काम पूरा गर्ने आफूहरूको पनि चाहना रहेको बताउनुभयो । उहाँले कोभिड–१९ र जमिनबाट पानी निस्कने समस्याका कारण निर्माणमा ढिलाइ भएको प्रस्ट पार्नुभयो ।

गोरखापत्र संस्थानका प्रशासन विभागका निर्देशक ओमप्रकाश भुसाल, उत्पादन विभाग प्रमुख अर्जुन बस्नेत र वरिष्ठ भण्डार अधिकृत विक्रमबाबु राईले पनि निर्माण कार्यको अनुगमन गर्नुभयो । उक्त अवसरमा गोरखापत्र संस्थानको कोहलपुर प्रकाशन कार्यालयका प्रमुख तारा बस्यालले हालसम्मको निर्माण कार्यबारे जानकारी गराउनुका साथै देखिएका समस्याबारे टोलीलाई जानकारी गराउनुभएको थियो ।

टोलीले कोहलपुरस्िथत कार्यालयमा सम्बद्ध सबैलाई राखेर यथाशीघ्र प्रकाशन सुरु गर्ने सम्बन्धमा छलफल गर्नुका साथै सुझाव, सल्लाहसमेत मागेको थियो । तीन चरणमा निर्माण पूरा गरिने भौतिक पूर्वाधारअन्तर्गत पहिलो चरणमा जग्गाको चारैतिर कम्पाउन्ड वाल बनाउने कार्य पूरा गरिएको छ भने प्रेस भवन, स्टोर र सीटीपी कक्षको निर्माण भइरहेको छ ।

कोहलपुरबाट पत्रिका प्रकाशन गर्नका लागि छापाखाना स्थापना गर्ने उद्देश्यले कोहलपुर नगरपालिकाको वडा नम्बर ३, मैटहवामा गत २०७४ सालको साउन ३ गते संस्थानले एक बिघा जग्गा खरिद गरेको थियो ।