धीरज दाहाल
विराटनगर, वैशाख ६ गते 
 गोरखापत्र संस्थानका प्रकाशनलाई समयानुकूल परिमार्जन गरी सामग्रीलाई अझ उत्कृष्ट बनाइने भएको छ । नेपालको सबैभन्दा पुरानो पत्रिका गोरखापत्र दैनिकलगायत संस्थानका प्रकाशनलाई थप परिमार्जित गर्दै पाठकको रुचिको पत्रिका बनाउन योजना सुरु भएको छ ।
संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले संस्थानमा नयाँ सोचको व्यवस्थापन र अनुभवको भण्डारका रूपमा रहेका कर्मचारीको मेल रहेकाले राष्ट्रको गौरवका रूपमा रहेको गोरखापत्र तथा अन्य प्रकाशनलाई अझ स्तरीय बनाउने अभियानमा व्यवस्थापन लागेको बताउनुभयो ।
संस्थानको प्रदेश स्तरीय प्रकाशन कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष सुवेदीले प्रविधिको आधुनिकीकरणसँगै पाठकको रुचिअनुसारका सामग्री अबको प्राथमिकता रहने बताउनुभयो । “सबैले इमानदारीपूर्वक जिम्मेवारी वहन गर्नुपर्छ,” सुवेदीले भन्नुभयो, “समस्या भए जानकारी गराउनुहोस्, हामी तत्काल समाधान निकाल्छौँ तर जिम्मेवारीमा कुशलता प्रदर्शन गर्नुहोस् ।” संस्थानको सञ्चालक समिति सबैको अपनत्वले सञ्चालित हुने हुँदा समूहगत रूपमा काम गर्न पनि उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो ।  
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले संस्थानको स्रोत, साधन र परिचालित जनशक्तिसँग भएको लामो अनुभवलाई अधिकतम उपयोग गर्दै सकारात्मक परिणाम देखाउन आवश्यक रहेको बताउनुभयो । संस्थानमा यो समय युवा र लामो समय पत्रकारिताको अनुभवको मेलबाट सञ्चालक समिति तथा व्यवस्थापन बनेको चर्चा गर्दै महाप्रबन्धक ऐरीले आफूहरूसँग परिणाम देखाउनुपर्ने चुनौतीसमेत रहेको बताउनुभयो ।
संस्थानका सञ्चालक समिति सदस्य तथा प्रदेश १ का संयोजक सचिन पोख्रेलले प्रदेश कार्यालयका तर्फबाट भएका कार्यका विषयमा जानकारी गराउँदै आमपाठकको रुचिअनुसारका सामग्रीलाई प्राथमिकता दिइने बताउनुभयो ।
सञ्चालक समितिका अर्का सदस्य चामप्रसाद धमलाले संस्थान टिमवर्कबाट सञ्चालित हुने हँुदा सबैले आआफ्नो स्थानबाट इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराईले समाचारको खोजी र विषयमा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी गराउनुहुँदै पाठकले संस्थानबाट प्रकाशित समाचारमा हालसम्म देखाएको विश्वासलाई अझ बलियो बनाउन सक्रिय हुन आवश्यक रहेको बताउनुभयो ।
प्रदेश स्तरीय प्रकाशन कार्यालयका प्रमुख भगिरथ बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थानका प्रशासन विभागका प्रमुख ओमप्रकाश भुसाल, राजकुमार गुरुङलगायतले बोल्नुभएको थियो ।