गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ९ गते
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परिणाम देखिनेगरी काम गर्न मन्त्रालयमातहतका निकाय तथा कर्मचारीलाई निर्देशन दिनुभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयद्वारा सोमबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७९/८० का लागि कार्यसम्पादन सम्झौता कार्यक्रममा मन्त्री कार्कीले कानुन, नीति, निर्णय र निर्देशन राम्रा भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको बताउनुभयो ।
परिणाम देखाउन सकेमात्र कार्यसम्पादन सम्झौताको अर्थ हुने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “हामीले धेरै भाषण गर्‍यौँ, धेरै कुरामा सही गर्‍यौँ तर सबैभन्दा कमजोर पक्ष कार्यान्वयनको छ । जबसम्म कार्यान्वयनलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्दैनौँ त्यो बेलासम्म जतिसुकै राम्रा कार्यक्रममा हस्ताक्षर गरे पनि त्यसले परिणाम
दिन सक्दैन ।”
“म धेरै भाषणमा विश्वास गर्दिनँ, काममा गर्छु । समर्पण र इमानदारीमा विश्वास गर्छु । त्यस दिशामा आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गरेर परिणाममुखी काम गर्न म सबैसँग आग्रह गर्दछु,” उहाँले भन्नुभयो । उहाँले हामी व्यस्त हुने भए पनि हाम्रो कार्यव्यस्तताको परिणाम समाजले अनुभूति गर्न सकेको छ कि छैन ? भन्ने महŒवपूर्ण विषय रहेको बताउनुभयो । नागरिकले परिणाम अनुभूति गर्नेगरी व्यस्त हुनुपर्ने उहाँको भनाइ छ । सो अवसरमा मन्त्री कार्कीले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बजेट वक्तव्यमा उल्लिखित बुँदा र वार्षिक कार्यक्रमको एकीकृत कार्यान्वयन कार्ययोजनासमेत सार्वजनिक गर्न‘भयो ।
भौतिक सम्पत्तिको विवरण तयारी
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पहिलो पटक मन्त्रालयमातहतका भौतिक सम्पत्तिको विस्तृत विवरण तयार गरेको छ । सो अवसरमा मन्त्रालयका उपसचिव पङ्कज भुर्तेलले मन्त्रालयअन्तर्गतका विभिन्न निकायका जग्गा र भवनको लगत सङ्कलन र तिनको अवस्थाबारे अध्ययन प्रतिवेदन मन्त्री कार्कीसमक्ष पेस गर्न‘भएको थियो ।
मन्त्री कार्कीले आफू सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्नेबित्तिकै सञ्चार मन्त्रालयमातहतका निकायको भौतिक सम्पत्तिको यकिन विवरण तयार गर्न लगाउनुभएको थियो । उक्त निर्देशनको स्मरण गर्दै उहाँले अब यसलाई संरक्षण र उत्पादनशीलतासँग कसरी जोड्न सकिन्छ त्यतातिर ध्यान दिन जरुरी छ भन्नुभयो ।
यसअघि कौडीको दाममा समेत जग्गाहरू दिइराखिएको बताउँदै उहाँले यस किसिमको काम हामीले गर्नुहुन्न । कमसेकम सञ्चार मन्त्रालयले यस किसिमको काममा कलम चोप्ने छैन भन्नुभयो । मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले कार्यसम्पादन सम्झौतालाई हल्का रूपमा नलिन मन्त्रालयमातहतका निकायका प्रमुखलाई निर्देशन दिनुभयो ।
सो अवसरमा मन्त्री कार्की र मन्त्रालयका सचिव अर्यालबीच कार्यसम्पादन सम्झौता भई आदान–प्रदान भएपछि मन्त्रालयअन्तर्गतका गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन, राष्ट्रिय समाचार समितिलगायत मन्त्रालयमातहत निकायका प्रमुख र सचिव डा. अर्यालबीच कार्यसम्पादन सम्झौता सम्पन्न
भएको थियो ।