गोरखापत्र समाचारदाता
गोदावरी (ललितपुर), जेठ १४ गते
गोरखापत्र संस्थानमा कार्यरत विभागीय प्रमुख तथा शाखा प्रमुखहरूका लागि आयोजित ‘नेतृत्व र सकारात्मक सोचको अभ्यास’ विषयक दुईदिने कार्यशाला शनिबार सम्पन्न भएको छ ।
कार्यशालाको समापन कार्यक्रममा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले निराश र उदास मनोविज्ञान तथा परम्परावादी सोच त्यागेर अघि बढ्न आग्रह गर्नुभयो । संस्थानमा कार्यरत जनशक्ति नै संस्थानको स्थायी तागत हो भन्दै उहाँले यस तागतलाई संस्थानका हकहित र उन्नतिमा लगाउन आह्वान गर्नुभयो । “संस्थानका व्यवस्थापन नेतृत्व मालिक होइन माध्यम हो, वर्तमान नेतृत्व कसैप्रति पूर्वाग्रही वा निर्देशित छैन,” कार्यकारी अध्यक्ष सुवेदीले संस्थानलाई अघि बढाउने दिशामा सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । गोरखापत्रमा छापिएका विगत १२२ वर्षका ऐतिहासिक दस्तावेज सुरक्षित र संरक्षित गर्न डिजिटल अर्काइभको काम प्रारम्भ भएको उहाँले उल्लेख गर्नुभयो ।
गोरखापत्रको पुस्तकालय सुदृढ र व्यवस्थित भए लाखौँ पाठक लाभान्वित हुने बताउँदै उहाँले गोरखापत्र, दी राइजिङ नेपाललगायतका प्रकाशनको साजसज्जामा परिवर्तन आएर आकर्षक बनेको बताउनुभयो । यसलाई थप पठनीय, विश्वसनीय र सबै पाठकको सहज पहुँचमा पुर्‍याउने काममा संस्थानका कर्मचारी तथा पत्रकारहरूको भूमिका रहने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले संस्थानमा सक्षम, क्षमतावान् जनशक्ति रहेको बताउँदै त्यही जनशक्तिकै हातमा संस्थानको भविष्य निर्भर रहेको बताउनुभयो । समूहगत कार्य, आपसी विश्वास र सकारात्मक सोचका साथ अघि बढे जस्तोसुकै लक्ष्य हासिल गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।
गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराईले गोरखापत्र दैनिकको साजसज्जा आकर्षक भई यसले पस्कने सामग्रीलाई समेत थप पठनीय बनाइएको बताउनुभयो । उहाँले त्यस क्रममा गोरखापत्र दैनिकमा कार्यरत जनशक्ति, अवस्था र भावी योजना तथा कार्यदिशाबारे प्रकाश पार्नुभएको थियो ।
कार्यशालामा सुदन ज्ञवालीले ट्रान्सफर्मेसनल टेक्नोलोजीबारे प्रस्तुति दिनुभएको थियो भने श्रीकृष्ण श्रेष्ठले प्रशासनिक सीप र प्रशासनिक अवधारणाका विषयमा प्रशिक्षण दिनुभएको थियो ।