गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ११ गते । गोरखापत्र संस्थानका कार्यकारी सम्पादक शिवकुमार भट्टराईले गोरखापत्र संस्थानको निमित्त महाप्रबन्धकको जिम्मेवारी पाउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयअनुसार भट्टराईलाई सोमबार नयाँ जिम्मेवारी दिइएको जानकारी मन्त्रालयले दिएको छ । ‘अर्को वैकल्पिक व्यवस्था नभएसम्मका लागि संस्थानको कर्मचारी सेवा सर्त विनियमावली २०५२ बमोजिम’ हाँले यो जिम्मेवारी पाउनुभएको हो । भट्टराईलाई दैनिक प्रशासनिक तथा आर्थिक कारोबारसमेत सञ्चालन गर्ने गरी निमित्त महाप्रबन्धकको जिम्मेवारी दिइएको छ । भट्टराई संस्थानको वरिष्ठतम् ज्येष्ठ कर्मचारी हुनुहुन्छ ।

नवनियुक्त महाप्रबन्धक भट्टराईले सोमबार नै संस्थानमा पद बहाली गर्नुभयो । त्यस अवसरमा उहाँले प्राप्त जिम्मेवारी इमानदारीसाथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारको नयाँ नीति तथा कार्यक्रम जनसमक्ष लैजानु नै गोरखापत्रको मुख्य जिम्मेवारी हुने उहाँको भनाइ छ । उहाँले गोरखापत्र दैनिक र संस्थानका अन्य प्रकाशनको स्तरोन्नति गर्नु आफ्नो मुख्य लक्ष्य हुने बताउनुभयो । गोरखापत्रको सीमा र दायराभित्र रहेर काम गर्न कर्मचारीलाई आग्रह गर्दै निमित्त महाप्रबन्धक भट्टराईले संस्थानमा देखिएका समस्या समाधानका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

त्यस अवसरमा गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक श्रीधर आचार्य, द राइजिङ नेपालका निमित्त प्रधानसम्पादक भीमसेन थपलिया, गोरखापत्र दैनिकका प्रबन्ध सम्पादक जुनारबाबु बस्नेत, विभागीय प्रमुखलगायतले नवनियुक्त निमित्त महाप्रबन्धक भट्टराईको स्वागत गर्नुभयो । पद बहालीका क्रममा नेपाल पत्रकार महासङ्घ गोरखापत्र शाखा, नेपाल प्रेस युनियन, नेपाल प्रेस सेन्टरलगायतले पनि नवनियुक्त महाप्रबन्धक भट्टराईको स्वागत गरेका थिए । नवनियुक्त महाप्रबन्धक भट्टराई यसअघि मुना मासिकको सम्पादकका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँ २०४९ साल फागुन १ गते तह ७ को उपसम्पादकमा गोरखापत्र संस्थानको सेवामा प्रवेश गर्नुभएको हो । खोटाङ जिल्लाको लामीडाँडामा २०२५ साल जेठ ७ गते जन्मनुभएका भट्टराईले आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर र कानुनमा स्नातक उत्तीर्ण गर्नुभएको छ । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले पदबाट साउन ४ गते राजीनामा दिनुभएको थियो ।