गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १६ गते । गोरखापत्र संस्थान व्यवस्थापनले गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादकमा श्रीधर आचार्यलाई नियुक्त गरेको छ । गोरखापत्रको प्रबन्ध सम्पादकको जिम्मेवारीमा रहनुभएका आचार्यलाई व्यवस्थापनले शुक्रबारदेखि लागू हुनेगरी प्रधान सम्पादकको जिम्मेवारी सुम्पेको हो ।
गोरखापत्रका निमित्त प्रधान सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ले उमेर हदका कारण अनिवार्य अवकाश प्राप्त गर्नुभएपछि रिक्त प्रधान सम्पादकमा आचार्यलाई नियुक्त गरिएको हो । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले संस्थानको मुख्य प्रकाशन गोरखापत्रका निमित्त प्रधान सम्पादकको नियुक्ति पत्र शुक्रबार आचार्यलाई हस्तान्तरण गर्नुभएको थियो । त्यस अवसरमा कार्यकारी अध्यक्ष भण्डारीले गोरखापत्रका प्रकाशनलाई पाठकबीच कसरी लोकप्रिय बनाउने भन्ने कार्ययोजनामा सहयोग गर्न व्यवस्थापन सधैँ तयार
रहेको बताउनुभयो ।
अध्यक्ष भण्डारीले एउटै मञ्चबाट सौहार्दपूर्ण वातावरणमा सम्पादकको बिदाइ र स्वागत  गर्न पाउनुलाई अपूर्व अवसर भएको चर्चा गर्नुुहुुँदै नयाँ सम्पादकको परीक्षाको घडी सुरु भएको बताउनुभयो । गोरखापत्रका सल्लाहकार सम्पादक गोपाल खनालले सामूहिक प्रयासले गोरखापत्रका ‘सुनौला दिन’ सुरु भएको चर्चा गर्दै गुणस्तरमा निरन्तरता दिँदै नयाँ फड्को मार्नुपर्ने बताउनुभयो । गोरखापत्र संस्थानका कानुनी सल्लाहकार कुमारप्रसाद भट्टराईले इतिहासको सङ्ग्रहका रूपमा रहेको गोरखापत्र संस्थानको संस्थागत विकास अगाडि बढाउन छलफल भइरहेको बताउनुभयो । नवनियुक्त प्रधान सम्पादक आचार्यले गोरखापत्र प्रतिको निष्ठा र पेसामा इमानदार बनेर आफूूले प्राप्त जिम्मेवरी बहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले सेवाको अवसर प्रदान गर्ने संस्थान व्यवस्थापनलाई धन्यवाद दिँदै गोरखापत्र दैनिकको पछिल्लो सुधारमा निरन्तरतासहित पठनीय बनाउन आफ्नो भूमिका रहने बताउनुभयोध्र गोरखापत्र दैनिकका निवर्तमान निमित्त प्रधान सम्पादक श्रीओम श्रेष्ठले गोरखापत्र गुणस्तरीय बनाउने कार्यमा सबैबाट सहयोग प्राप्त भएको अनुभव सुनाउनुभयो । नवनियुक्त प्रधान सम्पादक आचार्यले २०३९ साल चैतमा गोरखापत्र संस्थानमा सेवा प्रवेश गर्नुभएको हो । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–११ डिभर्नामा २०२० सालमा जन्मनुभएका आचार्यले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गर्नुभएको छ । यसअघि उहाँले गोरखापत्र संस्थानको सञ्चालक समिति र पदपूर्ति समितिमा रहेर सेवा गरिसक्नुभएको छ । यसैगरी गोरखापत्र संस्थान व्यवस्थापनले  प्रबन्ध सम्पादक हरिकला अधिकारीलाई निमित्त महाप्रबन्धकमा नियुक्त गरेको छ ।