गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १ गते । गोरखापत्रको सहप्रकाशन दी राइजिङ नेपाल ५६ वर्षमा प्रवेश गरेको छ । दी राइजिङ नेपाल २०२२ साल पुस १ गतेबाट प्रकाशन सुरु भएको हो ।

प्रकाशनको ५६औँ वर्ष प्रवेशका अवसरमा बुधबार आयोजित कार्यक्रममा नेपालको आर्थिक तथा सामाजिक विकास र विविधतालाई अङग्रेजी भाषाका  स्वदेशी तथा विदेशी पाठकसमक्ष अझ प्रभावकारी रूपमा लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले अङगे्रजी दैनिक लगायत सबै प्रकाशनलाई थप प्रतिस्पर्धी बनाउन व्यवस्थापन क्रियाशील रहेको बताउनुभयो ।

गोरखापत्र दैनिक, दी राइजिङ नेपाल, मधुपर्क, युवामञ्च, मुना र अनलाइन गरी छवटा प्रकाशन सञ्चालनमा रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘‘यी प्रकाशनहरू किशोर तथा युवा पु स्तादेखि पाको उमेरसम्मका लागि अझ पठनीय र लोकप्रिय बनाउन लाग्नुपर्छ । त्यसका लागि व्यवस्थापनले काम गरिरहेको छ ।’’

उहाँले प्रकाशनहरूको लक्षित समूह पहिल्याउँदै बालबालिका, किशोर, युवा, सबै वर्ग–समुदायले ‘टिप्ने’ प्रकाशन बनाउन अझै मिहिनेतको खाँचो औँल्याउनुभयो ।

गोरखापत्रका सम्पादक सल्लाहकार गोपाल खनालले गोरखापत्रका प्रकाशनहरूलाई राज्य, सरकार र जनता सबैको सेवकका रूपमा विकास गर्ने प्रयास भइरहेको बताउनुभयो । राज्य लगानीको अखबार भए पनि यसले सबै खालका विचार र समाचारलाई समेटेर अगाडि बढिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले दी राइजिङ नेपाल पढेर नेपालप्रतिको धारणा र विचार बनाउने बौद्धिक जमात बढदै गएको बेला गोरखापत्र र यसका प्रकाशनमा काम गर्नेहरूलाई कुनै मालिकको सेवक नभई देश र जनताको सेवा गरेको अनुभूति हुने गरेको बताउनुभयो ।

दी राइजिङ नेपालका पूर्व सम्पादक तथा प्राध्यापक पी. खरेलले गोरखापत्रले सबैको विचार समेट्नुपर्ने बताउनुभयो । उहाँले २०३० सालदेखि दी राइजिङ नेपालमा काम गर्दाको अनुभव सुनाउँदै आफ्नो व्यक्तित्व

विकास र उपलब्धिमा यसै अखबारको योगदान रहेको चर्चा गर्नुभयो ।

त्यस्तै दी राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलियाले राइजिङ नेपालको समाचार लेखन, भाषागत शुद्धता तथा भावी योजना प्रस्तुत गर्नुभएको थियो । नायब कार्यकारी

सम्पादक परमेश्वर देवकोटाले राइजिङ नेपाल पाठकको रुचिअनुसार अगाडि बढिरहेको बताउनुभयो ।