काठमाडौं, पुस १ गते । गोरखापत्र संस्थानको दोस्रो दैनिक प्रकाशन अङ्ग्रेजी भाषाको ‘द राइजिङ नेपाल’ को ५७ औं वार्षिकोत्सव एक समारोहका बीच सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सुरु भएको हो ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई, सञ्चालक समितिका सदस्य सचिन पोखरेल, राजुकुमार महतसहित गोरखापत्र संस्थानका प्रकाशन प्रमुख, विभागीय प्रमुख सहभागी हुनुहुन्छ ।

यसैगरी, राइजिङ नेपालका पूर्व प्रधान सम्पादक प्राध्यापक पी. खरेल तथा अन्य विशिष्ट व्यक्तित्वहरु समारोहमा सहभागी हुनुहुन्छ ।

कार्यक्रममा राइजिङ नेपालका प्रबन्ध सम्पादक नारायण उपाध्यायले देश विदेशमा रहेका अङ्ग्रेजी पाठकलाई सूचना र सन्देश प्रवाह गर्ने कार्य जारी रहेको बताउनुभयो । 

अहिले दि राइजिङ नेपालका प्रधान सम्पादक भीमसेन थपलियाले ‘दि राइजिङ नेपाल : विश्वासको विरासत’ नामक कार्यपत्र प्रस्तुत गरिरहनुभएको छ ।

राइजिङ नेपाल देशको ठूलो आकारको सबैभन्दा पुरानो अङ्ग्रेजी दैनिक हो । यसअघि साप्ताहिक र सानो आकारका अङ्ग्रेजी भाषाका अखबार प्रकाशन भए पनि निरन्तररुपमा प्रकाशनमा रहेका अङ्ग्रेजी भाषाको दैनिक अखबारमा राइजिङ नेपाल पर्दछ ।

अङ्ग्रेजी भाषाको प्रभाव बढ्दै जाँदा अङ्ग्रेजी भाषामा प्रकाशन हुने अखबारको लोकप्रियता पनि बढ्दै छ ।