गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन १५ गते ।

नेपालको पहिलो अङ्ग्रेजी राष्ट्रिय दैनिक द राइजिङ नेपालका नायब कार्यकारी सम्पादक नारायण उपाध्याय सोही दैनिकको प्रबन्ध सम्पादकमा नियुक्त हुनुभएको छ । गोरखापत्र संस्थान व्यवस्थापनले साउन १५ गतेदेखि लागू हुने गरी उपाध्यायलाई प्रबन्ध सम्पादकको जिम्मेवारी सुम्पेको हो । नवनियुक्त प्रबन्ध सम्पादक उपाध्यायले शुक्रबार नै पद बहाली गर्नुभएको छ । २०४८ सालबाट पत्रकारिता सुरु गर्नुभएका उहाँ २०५० सालमा उपसम्पादकका रूपमा गोरखापत्र संस्थानको सेवामा प्रवेश गर्नुभएको थियो ।