गोरखापत्र समाचारदाता
काठमाडौं, भदौ ३ गते । गोरखापत्र संस्थानको सूचना प्रविधि विभागअन्तर्गत कम्प्युटर शाखामा कार्यरत कर्मचारीको दक्षता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ । संस्थानका प्रकाशनको डिजाइन आकर्षक र समयसापेक्ष बनाउन कर्मचारीलाई प्रशिक्षण दिइएको हो ।
साउन अन्तिम साताबाट सुरु भएको प्रशिक्षण कार्यक्रम भदौ ६ गतेसम्म चल्ने छ । सूचना प्रविधि विभागका नि. निर्देशक रेखादेवी श्रेष्ठले संस्थानमै कार्यरत अनुभवी कर्मचारी प्रशिक्षकबाट थोरै बजेटमा प्रदान गरिने प्रशिक्षणले कर्मचारीको दक्षता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले संस्थानका प्रकाशनलाई अझ आकर्षक र बजारमा प्रतिस्पर्धी बनाउने लक्ष्य लिएर प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । फोटोसपसम्बन्धी प्रशिक्षण ज्ञानेन्द्र लामाले तथा ग्राफिक डिजाइनसम्बन्धी प्रशिक्षण सानुराम दाहालले दिइरहनु भएको छ ।
संस्थानअन्तर्गत गोरखापत्र दैनिक, द राइजिङ नेपाल र मासिक प्रकाशनहरू ‘मधुपर्क’, ‘युवामञ्च’ र ‘मुना’ प्रकाशन हुँदै आएका छन् । यसका साथै गोरखापत्रको नयाँ नेपाल पृष्ठमा विभिन्न समुदायले बोल्दै आएका ३८ वटा राष्ट्र भाषामा पनि समाचार सामग्री प्रकाशन हुँदै आएको छ ।