राजतन्त्र र प्रजातन्त्र विरोधाभासपूर्ण व्यवस्था : नेपाल
गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ३० गते
गोरखापत्र संस्थानको सहप्रकाशन मधुपर्क मासिकले ५५ वर्ष पूरा गरेको छ । त्यस
अवसरमा आयोजित विशेष समारोहमा तीन जना साहित्य साधकलाई ‘मधुपर्क सम्मान– २०७९’अर्पण गरियो ।
गद्यतर्फ पुरुषोत्तम बस्नेत र पद्यतर्फ गणेश रसिकलाई मधुपर्क सम्मान तथा मोमिला जोशीलाई मधुपर्क प्रतिभा सम्मान प्रदान गरिएको हो । साहित्यकार डा. ध्रुवचन्द्र गौतमको संयोजकत्वमा गठन गरिएको समितिले सम्मानका लागि उहाँहरूको नाम सिफारिस गरेको थियो । स्रष्टात्रयलाई इतिहासविद् ज्ञानमणि नेपाल, गोरखापत्र
संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी तथा मधुपर्क मासिकका सम्पादक जयदेव भट्टराईले सम्मानित गर्नुभएको थियो ।
समारोहलाई सम्बोधन गर्दै इतिहासविद् ज्ञानमणि नेपालले गोरखापत्र स्थापनाको आँट गरेर राणा प्रधानमन्त्री देवशमशेरले नेपाली भाषा र साहित्यको जग बसाल्न महŒवपूर्ण योगदान पुर्‍याएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “युगमा एउटा
राम्रो मान्छे आउँछ । देवशमशेर राणा भएर पनि आफ्नो कार्यकालमा थुप्रै राम्रा काम गर्नुभयो । ती राम्रा काममध्ये गोरखापत्रको प्रकाशन पनि एउटा थियो ।”
उहाँले त्यही गोरखापत्रकै माध्यमबाट मधुपर्कको पनि प्रकाशन हुन सकेको र त्यसको निरन्तरताले नेपाली भाषा साहित्य फस्टाउन पाएको विचार व्यक्त गर्नुभयो । देवशमशेरका राम्रा काममा ३५ वटा विद्यालय स्थापना पनि रहेको उहाँले बताउनुभयो ।
उहाँले राजतन्त्र र प्रजातन्त्र एक–अर्कामा विरोधाभासपूर्ण व्यवस्था रहेको बताउँदै राम्रा काम गर्दागर्दै पनि २०१६ मा त्यही भएर प्रजातन्त्र अन्त्य गरिएको टिप्पणी गर्नुभयो ।
सम्मानित व्यक्तित्व पुरुषोत्तम बस्नेतले मधुपर्क सम्मान पाउँदा आफूलाई जिम्मेवारी थपिएको बताउँदै नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा अरू लाग्न शुभकामना दिनुभयो ।
बस्नेतले स्रष्टाहरूलाई साहित्यिक रचना प्रकाशन गर्ने स्थान उपलब्ध गराएर मधुपर्कले ठूलो गुन लगाएको बताउनुभयो । उहाँले मधुपर्कमा साहित्यिक रचना छापिँदा पाइने खुसी अरू केहीबाट पनि नपाइने गरेको स्मरण गर्नुभयो ।
अर्का सम्मानित व्यक्तित्व गणेश रसिकले विगतमा निजी क्षेत्रबाट थुप्रै साहित्यिक पत्रिका प्रकाशन भए पनि छोटो समयमै बन्द भएको स्मरण गर्दै मधुपर्क भने जस्तोसुकै कठिन परिस्थतिमा पनि निरन्तर प्रकाशन भइरहनु खुसीको विषय रहेको बताउनुभयो ।
साहित्यकार मोमिला जोशीले साहित्यिक रचनाले जति दिने खुसी र सन्तुष्टि अरू कुनै पनि वस्तुले दिन नसक्ने बताउनुभयो । सम्मानित व्यक्तित्व छनोट समिति संयोजक डा. धु्रवचन्द्र गौतमले मधुपर्कले मुलुकमा थुप्रै साहित्यानुरागीलाई हुर्काएको बताउनुभयो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले मधुपर्कलाई नेपाली साहित्यको पाठशालाको संज्ञा दिँदै मधुपर्ककै कारण मुलुकमा थुप्रै साहित्यकर्मी तथा रचनाकर्मीको जन्म भएको उल्लेख गर्नुभयो ।
मधुपर्कमा छापिएका रचनाबापत स्रष्टालाई संस्थानले उपलब्ध गराँदै आएको पारिश्रमिक पुनरवलोकन गर्न लागिएको पनि उहाँले कार्यक्रममा जानकारी गराउनुभयो । मधुपर्कलाई पुस्तकका रूपमा मात्रै नभएर विद्युतीय माध्यमबाट समेत पढ्न सक्नेगरी प्रविधि विकास गर्न लागिएको सो अवसरमा कार्यकारी अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले संस्थानले साहित्य, समाचार तथा फरक उमेर समूहअनुसारका नागरिकका लागि फरक सामग्री दिनेगरी विभिन्न प्रकाशन गरिरहेको जानकारी दिनुभयो ।
संस्थानअन्तर्गतका सामग्रीलाई नागरिकको आवाज बनाउने अभियानमा आफूहरू रहेको जानकारी उहाँले दिनुभयो ।