गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २४ गते
मुलुकको अग्रणी पत्रिका गोरखापत्र र अङ्ग्रेजी दैनिक दी राइजिङ नेपाल डिजिटल प्रविधिमा प्रवेश गरेका छन् । त्यस क्रममा गोरखापत्र र दी राइजिङ नेपाल तथा अनलाइन संस्करणमा गरिएको साजसज्जा (ले आउट) परिवर्तनको औपचारिक थालनी भएको छ ।
गोरखापत्रको १२२औँ वर्ष प्रवेश तथा संस्थानको ६०औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल प्रविधिको औपचारिक उद्घाटन गर्नुभयो । दुवै पत्रिका तथा अनलाइन संस्करणको अनौपचारिक सुरुवात भने २०७९ वैशाख १ गतेदेखि नै भएको थियो । संस्थानको डिजिटल प्लेटफर्म गोरखापत्र डेली डटकम र दी राइजिङ नेपाल डेली डटकमको पनि आवरण परिवर्तन गरिएको छ । संस्थानबाट उत्पादित सामग्रीलाई स्मार्ट बनाउने अभियानअन्तर्गत यी सामग्रीको आवरण परिवर्तन गरिएको हो । संस्थानलाई स्मार्ट बनाउने अभियानअन्तर्गत पश्चिम भेगका ३१ जिल्लालाई समेट्ने गरी बाँकेको कोहलपुरबाट गोरखापत्रको प्रकाशन र विभिन्न शाखामा कार्यरत सञ्चारकर्मी तथा कर्मचारीलाई तालिम सञ्चालन सुरु गरेको छ । वित्तीय क्रियाकलापलाई पारदर्शी बनाउन विशेष अभियान थालिएको पनि गोरखापत्र व्यवस्थापनले जनाएको छ ।  
त्यस अवसरमा मन्त्री कार्कीले गोरखापत्रलाई स्मार्ट बनाउने व्यवस्थापनको अभियानमा आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले डिजिटल रूपान्तरणका लागि गोरखापत्र दैनिक, दी राइजिङ नेपाल अङ्ग्रेजी दैनिक तथा अनलाइनको समेत डिजाइन परिवर्तन गरिएको जानकारी दिनुभयो ।