नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, फागुन २९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोहलपुरमा स्थापना भएको गोरखापत्र संस्थानको छापाखाना र नेपाल टेलिभिजनको क्षेत्रीय प्रसारण केन्द्रको निरीक्षण गर्नुभएको छ ।
मन्त्री कार्कीले आइतबार कोहलपुरको मैटहवामा सञ्चालनमा रहेको गोरखापत्रको छापाखानाको स्थलगत निरीक्षण गर्नुहुँदै छापाखानालगायत निर्माणाधीन अन्य भवनबारे विस्तृत जानकारी लिनुभयो ।
छापाखानामा आयोजना गरिएको स्वागत कार्यक्रममा बोल्नुहुँदै मन्त्री कार्कीले कोहलपुरबाट गोरखापत्रले सुरु गरेको प्रकाशनले पश्चिम नेपालका सबै जिल्लासम्म सूचनाको पहुँच हुने र सो क्षेत्रका जनताको पहँुच सरकारसम्म पुग्ने बताउनुभयो । उहाँले गोरखापत्रलाई सुविधा सम्पन्न बनाउन मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै यस पत्रिकालाई जनताको पत्रिका बनाउन यसमा कार्यरत सबैको साझा दायित्व भएको बताउनुभयो ।
गोरखापत्रलाई पश्चिमका पहाडी र हिमाली जिल्लासम्म पुर्‍याउन ठूलो चुनौती रहे पनि सो कार्यमा सफलता प्राप्त हुनेमा आफू विश्वस्त भएको उहाँले बताउनुभयो ।
यसअघि छापाखानालगायत निर्माणाधीन भवन तथा पत्रिकाको वितरण व्यवस्थाबारे गोरखापत्र संस्थान कोहलपुर कार्यालयका प्रमुख तारा बस्यालले जानकारी गराउनुभएको थियो ।
सो निरीक्षणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, मन्त्रालयका सहसचिवहरू उत्तरकुमार खत्री र विनोद प्रकाशसिंह तथा राष्ट्रिय सूचना केन्द्रका कार्यकारी निर्देशक सुनील पौडेल, कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जुकुमारी चौधरी तथा नेपाली काँग्रेस बाँकेका सभापति नारायण गौडेलको सहभागिता थियो ।
मन्त्री कार्कीले कोहलपुरमा रहेको नेपाल टेलिभिजनको क्षेत्रीय प्रसारण केन्द्रको पनि निरीक्षण गर्नुभयो । सो अवसरमा उहाँलाई उक्त प्रसारण केन्द्रका प्रमुख विजय वर्माले विस्तृत रूपमा जानकारी गराउनुभएको थियो ।
प्रसारण केन्द्रमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सरकारले सरकारी सञ्चार माध्यमलाई आधुनिक र सुविधा सम्पन्न बनाउन विभिन्न कार्य गरिरहेको जनाउँदै सरकारी सञ्चार माध्यमले जनताको मन जित्नुपर्ने बताउनुभयोध्र
उहाँले कोहलपुरमा गोरखापत्रको छापाखाना र नेपाल टेलिभिजनको प्रसारण केन्द्र हुनु निकै महत्वको विषय रहेको जनाउँदै यसबाट बढीभन्दा बढी जनताले लाभ पाउनुपर्नेमा जोड दिनुभयो ।