ललित बसेल
सुर्खेत, फागुन ४ गते । कर्णााली प्रदेशका विभिन्न सरोकारवाला पक्षले मुलुककै जेठो अखबर गोरखापत्रलाई पहिलो रोजाईको अखबार बनाउन सुझाव दिएका छन् । उनीहरुले फेरि पनि अखबार भनेकै गोरखापत्र भन्ने पहिचानलाई जोगाउन कोहलपुर संस्करणले सहयोग पुग्ने बताएका छन् ।
आइतवार सुर्खेतमा गोरखापत्रद्वारा आयोजित अन्तरक्रियामा सहभागीहरुले विकासमा पछाडि पारिएको कर्णालीलाई देशकै जेठो पत्रिकाले प्राथमिकताका साथ महत्व दिनुपर्ने सुझाव दिएका छन् ।
वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकालले कोहलपुर संस्करणबाट कर्णालीको पीडामात्र नभइ यहाँको सम्भावनाहरुका मुद्दाहरुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
उहाँले सत्य र तथ्यमा आधारित भएर समाचारहरु आउनुपर्ने भन्दै गोरखापत्रको गति अलि सुस्त भएको उल्लेख गर्नुभयो । साथै समाचारमा विविधता र नवीनतामा ल्याउनपनि उहाँको जोड छ ।
नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले विगतमा काठमाडौंले कर्णाली प्रदेशको आवाज नसुनेको भन्दै अव सुन्नुपर्ने बताउनुभयो ।
उहाँले कर्णालीका मुद्दालाई केन्द्रले पनि प्राथमिकता दिनुपर्ने र त्यो काम अव गोरखापत्रको कोहलपुर संस्करणबाट अझ अगाडि बढ्ने अपेक्षा गर्नुभयो ।
साथै गोरखापत्रलाई प्रतिस्पर्धी बनाउनपनि उहाँले सुझाव दिनुभयो । सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले निजी क्षेत्र र सरकारवीचको दुरीलाई गोरखापत्रले कम गराउनुपर्ने बताउनुभयो ।
उहाँले गोरखापत्रको नाम ब्राण्ड भएझैं काम पनि ब्राण्ड हुनुपर्ने जनाउनुभयो । उद्योगी व्यवसायीहरुका समस्यालाई उजागर गर्ने, प्रोत्साहन गर्ने समाचार आउनुपर्ने उहाँको भनाइ छ ।
प्राज्ञ डा. दिपक गौतमले नेपालको पत्रकारिता, भाषा, साहित्यमा गोरखापत्रको भूमिकाको कसैसँग तुलना हुनै नसक्ने बताउनुभयो । उहाँले गोरखापत्र नै सवैको प्रेरणाको स्रोत भएकोले काठमाडौं शासित सोच हटाउन आग्रह गर्नुभयो । उहाँले जताजता मुख्यमन्त्री, मन्त्री, उताउता पत्रकारको भावना पनि त्यागेर समालोचनात्मक समाचारहरु ल्याउनु जोड दिनुभयो ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व डीन पीताम्बर ढकालले सरकारको मात्र होइन देशकै मुखपत्र बन्ने गरी र पहिलो रोजाईको पत्रिका बन्ने गरी बजारमा उत्रिन सुझाव दिनुभयो ।
अधिकारकर्मी पवित्रा शाहीले सरकारको गुणगाण गाउने मात्र नभइ आलोचनापनि छाप्ने हिम्मत गर्न जोड दिनुभयो । धेरैजसो समाचारहरु घटनाप्रधान र राजनीतिसंग सम्बन्धित हुने हुँदा आगामी दिनमा सामाजिक चेतनास्तर, महिलालाई प्राथमिकता दिएर समाचार ल्याउन गोरखापत्रलाई उहाँले सुझाव दिनुभयो । साथै कर्णालीको कुरीतिमाथि पनि निर्मम प्रहार गर्नुपर्ने उहाँको भनाइ छ ।
प्राध्यापक डा. अर्जुनबहादुर अयडीले गोरखापत्रले पाठकले रोजेका विषयबस्तुलाई फोकस गर्नुपर्ने बताउनुभयो । अहिले लोकसेवाका विद्यार्थीहरुलाई मात्रै ध्यान दिइएको जस्तो देखिएकोले सवै पक्षको पत्रिका बन्नुपर्ने उहाँले जनाउनुभयो ।
साथै मोफसलका लेख रचनाहरुलाई पनि प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । सुर्खेत औद्योगिक क्षेत्र व्यवस्थापन समितिका प्रमुख जीवनारायण बञ्जाडेले कोहलपुर संस्करणबाट कर्णालीको कृषि, पर्यटन, उद्योगलाई जोड दिइएका समाचारहरु आउन सुझाव दिनुभयो ।
सो अवसरमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले संघीयताका कारण गोरखापत्र पनि प्रदेश प्रदेशमा आएको बताउनुभयो । उहाँले गोरखापत्रलाई पहिलो रोजाईको पत्रिका बनाउन पाठक र सरोकारावालाहरुको सुझाव संकलन गरिरहेको र त्यसैका आधारबाट परिस्कृत गराइने उल्लेख गर्नुभयो । उहाँले गोरखापत्रलाई देशैभरी पु¥याउने अभियान थालिसकेको बताउनुभयो ।
गोरखापत्रका सम्पादक सल्लाहकार गोपाल खनालले गोरखापत्रलाई राष्ट्रको पत्रिका बनाउने उद्देश्यका साथ देखिने परिमार्जन गरिएको बताउनुभयो । गोरखापत्र दैनिकका प्रधान सम्पादक श्रीओम श्रेष्ठले गोरखापत्रप्रति आमपाठकको धारणा बुझ्न सुझाव संकलन गरिरहेको जनाउनुभयो । कार्यक्रममा दि राइजिङ नेपालका प्रधान सम्पादक जगदीश पोख्रेल, गोरखापत्र संस्थानका कानुनी सल्लाहकार कुमार भट्टराईको पनि उपस्थिति थियो ।
कार्यक्रममा मप विश्वविद्यालयका उपप्राध्यापक युवराज शर्मा, सुर्खेत उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष नारायण कोइराला, सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कँडेल, उच्च अदालत बार सुर्खेतका सदस्य रमा प्याकुरेल, अधिवक्ता गीता कोइराला, पत्रकारिताका विद्यार्थीहरु मधुवन विसी, देव राना, संसदीय मामिला पत्रकार समाजका कर्णाली प्रदेश अध्यक्ष शेरबहादुर थापा, संचारिका समूहका प्रदेश अध्यक्ष टिका विष्ट, राससका प्रकाश अधिकारी, पुस्तक व्यवसायीहरु हिमाल नेपाल, राजकुमार सिंजापति, विक्री एजेण्ड बलबहादुर थापालगायतले गोरखापत्रलाई पठनीय बनाउन सुझाव दिदैं कोहलपुर संस्करणबाट कर्णालीमा विहानै गोरखापत्र आउने भएकोमा खुशी व्यक्त गरेका थिए ।