गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन  ७ गते
गोरखापत्र संस्थानलाई राष्ट्रिय समाचार समिति (रासस)ले उत्कृष्ट सेवाग्राही सम्मान प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार राससको ६२औँ वार्षिकोत्सव समारोहमा सम्मान प्रदान गर्नुभएको हो ।
समारोहमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीलाई सम्मान प्रदान गरिएको थियो । मुलुकभर रहेका राससका ४०९ वटा सेवाग्राहीबाट छनोट गरेर संस्थानलाई उक्त सम्मान प्रदान गरिएको हो ।
सोही अवसरमा दी हिमालयन टाइम्स अङ्ग्रेजी दैनिक र लोकान्तर डटकमलाई पनि उत्कृष्ट सेवाग्राही सम्मान प्रदान गरियो । २०१८ साल फागुन ७ गते निजी क्षेत्रका ‘नेपाल संवाद समिति’ र ‘सगरमाथा संवाद समिति’ गाभिएर सरकारी स्वामित्वमा राष्ट्रिय संवाद समिति स्थापना भएको हो ।
रासस केन्द्रीय कार्यालयसहित सातवटा प्रदेश कार्यालय तथा मुख्य सहरमा अन्य ११ वटा कार्यालय रहेको महाप्रबन्धक सिद्धराज राईले जानकारी दिनुभयो । राससले वार्षिकोत्सवका अवसर पारेर आइतबार नै उत्कृष्ट समाचारदाता, सम्पादक र कर्मचारीलगायतलाई पुरस्कार तथा सम्मान प्रदान गरेको थियो । सोही कार्यक्रममा राससबारे प्रकाशित दुईवटा पुस्तकसमेत विमोचन गरिएको थियो ।
वार्षिकोत्सवका अवसरमा राससले आयोजना गरेको अन्तरसरकारी सञ्चारगृहबीचको हाजिरीजवाफ प्रतियोगितामा उत्कृष्ट भएका टोलीलाई पुरस्कृत गरिएको थियो । ‘विकासका लागि सञ्चार’ भन्ने मूल मर्मलाई आत्मसात् गरेको राससले स्थापनाकालदेखि आधिकारिक, विश्वसनीय र सत्यतथ्य समाचार सङ्कलन एवं वितरण गर्दै आएको छ । राससले देशभर सञ्चालित रेडियो, पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई हरेक दिन बिहान ६ देखि राति ११ बजेसम्म न्युज लाइनमार्फत निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ ।