गोरखापत्र समाचारदाता
गोदावरी (ललितपुर), जेठ १३ गते 
 गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले प्रविधिको गति र समयको मागअनुसार अघि बढे स्मार्ट गोरखापत्रको यात्रा सफल हुने बताउनुभएको छ ।
ललितपुरको गोदावरीमा शुक्रबारदेखि आयोजित ‘नेतृत्व र सकारात्मक सोचको अभ्यास’ विषयक दुई दिने कार्यशालामा उहाँले सो कुरा बताउनुभएको हो । संस्थानमा कार्यरत विभागीय प्रमुख तथा शाखा प्रमुखहरूका लागि सो कार्यशाला आयोजना गरिएको हो ।
गोरखापत्रको शाक्ति र पुँजी भनेको पाठक हो, पाठकको अभिरुचिअनुसार सामग्री पस्कनुपर्ने बताउँदै अध्यक्ष सुवेदीले संस्थानको जनशक्तिले काम गर्ने प्रणाली र प्रक्रियालाई पनि स्मार्ट बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “गोरखापत्रसँग १२२ वर्षको गौरवमय इतिहास छ, सिङ्गो युगको प्रतिनिधित्व रहेको छ । सभ्यता र संस्कृति बोकेको छ । तर आधुनिक संसारको डिजिटल गतिसँग हामी हिँड्न सकेका छैनौँ ।” उहाँले संस्थानलाई डिजिटलको गतिसँगै अघि बढ्नुपर्ने बताउँदै आफ्नो क्षमता र अनुभवलाई ‘स्मार्ट गोरखापत्र’को यात्रामा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले परिणाम देखिने गरी काम गर्न विभागीय प्रमुख तथा शाखा प्रमुखहरूलाई आग्रह गर्नुभयो । पेसागत आचरण, अनुशासन र संस्थाप्रति इमानदारीपूर्वक काम गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले सकारात्मक सोच र समूहगत भावनाका साथ अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा रमण भट्टराईले समय र तनाव व्यवस्थापन तथा सामूहिक कार्यबारे प्रस्तुति दिनुभयो ।