गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १७ गते । गोरखापत्र संस्थान व्यवस्थापनले गोरखापत्र दैनिकको प्रबन्ध सम्पादकमा गोकर्ण अर्याललाई नियुक्त गरेको छ । नेपाली पत्रकारिता समूहअन्तर्गत १०औँ तहका कार्यकारी सम्पादक अर्याललाई साउन १८ गतेबाट लागू हुने गरी सो जिम्मेवारी तोकिएको हो । संस्थानका निमित्त महाप्रबन्धक शिवकुमार भट्टराईद्वारा हस्ताक्षरित पत्रमा अर्याललाई संस्थानको नेपाली प्रकाशन गोरखापत्र दैनिकमा साबिककै सेवा, समूह कायम रहने गरी अर्को व्यवस्था नभएसम्मका लागि गोरखापत्र दैनिकको निमित्त प्रबन्ध सम्पादकको जिम्मेवारी तोकिएको उल्लेख छ । त्रिभुवन विश्व विद्यालय बाट ग्रामीण विकास विषयमा स्नातकोत्तर गर्नुभएका अर्यालले ‘इन्डियन इन्स्िटच्युट अफ मास कम्युनिकेसनबाट पत्रकारितामा डिप्लोमा अध्ययन गर्नुभएको छ । धादिङ जिल्लाको साबिक ढोला गाविस–१ मा २०२० साल भदौमा जन्मनुभएका अर्याल पत्रकारिताका प्रशिक्षक तथा प्राध्यापन सेवामा समेत संलग्न हुनुहुन्छ । ‘एक सय एक व्यक्तित्व’ नामक कृतिका लेखक अर्यालले पत्रकारिताको अध्ययन अवलोकनका क्रममा जापान, चीन, पाकिस्तान, भारतलगायतका देशको भ्रमण गर्नुभएको छ । गोरखापत्र दैनिकमा निमित्त प्रबन्ध सम्पादकको जिम्मेवारी सम्हाल्दै आउनुभएका जुनारबाबु बस्नेतलाई संस्थानको मुना मासिकको सम्पादक नियुुक्त गरिएको संस्थान व्यवस्थापनले जनाएको छ ।