नवराज कट्टेल
 
विराटनगर, असोज २ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र प्रेसको जीवन अनन्त रहेको बताउनुभएको छ । गोरखापत्रको पूर्वक्षेत्र प्रकाशनको बिहीबार विराटनगरमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले नेपालको पत्रकारिता जीवनको यात्रा प्रारम्भ गरेको गोरखापत्र सरकारको मात्र नभई राष्ट्रकै मुखपत्र बन्नुपर्ने धारणा राख्नुभयो । गोरखापत्रले समग्र सामग्री सुधार्दै बेथितिविरुद्ध प्रहारका रूपमा स्थापित हुनुपर्ने बताउँदै उहाँले पत्रकारिता आलोचनाको चेत भएकाले सत्य सूचनाको संवाहक बन्न सुझाव दिनुभयो । गोरखापत्र जनताको सम्पत्ति भएको बताउँदै उहाँले यसको गुणस्तर अझ वृद्धि गर्न समयको माग भएको बताउनुभयो ।
प्रतिस्पर्धी सञ्चार युगमा गोरखापत्रले नेतृत्व गर्नुपर्नेमा मन्त्री बाँस्कोटाले जोड दिनुभया । शीर्षकले पाठकलाई तान्छ तर सामग्रीमा ज्ञान, कला र संस्कृतिका कुरा समेटिएको समाचार पढ्न पाउनु नागरिकको अधिकार रहेको धारणा उहाँले व्यक्त गर्नुभयो ।
प्रदेश १ र २ का एक करोड नागरिकको मनमनमा गोरखापत्र स्थापित हुनुपर्ने बताउँदै मन्त्री बाँस्कोटाले नव नेपाल निर्माणको महाअभियानको सहयोगीका रूपमा रहनुपर्नेमा जोड दिनुभयो । रेडियो प्रजातन्त्रको आवाज गुञ्जिएको विराटनगरबाट गोरखापत्रको प्रकाशनले समृद्ध नेपालको बहुआयामिक स्वरूपलाई चित्रण गरेको उहाँले
स्पष्ट पार्नुभयो ।
“मानवीय चेतनास्तरको विकासले भौतिक विकास खोज्छ”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “प्रजातान्त्रिक रेडियो गुञ्जिएको विराटनगरमा तीन महिनाभित्रै तारणीप्रसाद कोइराला सञ्चारग्रामको समेत उद्घाटन गरिने छ ।” मजदुर आन्दोलनबाट नागरिक आवाज सुनिश्चित भएको विराटनगरमा पत्रकारिता विकासका लागि पूर्वाधार निर्माणले फड्को मारेको उहाँको भनाइ छ। नेपाल टेलिभिजनको प्रादेशिक प्रसारणसमेत आगामी फागुन ७ देखि सुरु हुने जानकारी उहाँले दिनुभयो ।
विकासलाई समग्र हिसाबले अगाडि बढाउने सरकारको योजना रहेको बताउँदै मन्त्री बाँस्कोटाले जग बसालेकै दिन घर निर्माण हुनुपर्छ भनेर खोज्न नहुने टिप्पणी गर्नुभयो । विकास र पूर्वाधार निर्माण नभएको भनेर आलोचना गर्नेहरूलाई कामबाटै देखाउन सरकार तयार रहेको उहाँको भनाइ छ। 
लोकतन्त्रमा सबैका लागि स्थान सुरक्षित भए पनि प्रतिगामी, तानाशाही र विध्वंशको पक्षमा उभिनेलाई स्थान नभएको मन्त्री बाँस्कोटाले स्पष्ट पार्नुभयो । उहाँले संविधान दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउन सबैसँग आग्रहसमेत गर्नुभयो ।
 
भ्रष्टाचारविरुद्ध कठोर
मन्त्री बाँस्कोटाले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध कठोर रहेको बताउनुभयो । भ्रष्टाचार नै छैन भनेर हामीले भनेका छैनौंँ भन्दै उहाँले थप्नुभयो, “न्यूनीकरणका लागि कारबाहीलाई तीव्रता दिएका छौंँ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पत्तिको उपयोग र संरक्षणको नीति अवलम्बन गर्नुभएको बताउँदै उहाँले कसैले पनि कानुनविपरीत काम गरेको भए सजायको भागीदार बन्नुपर्ने बताउनुभयो । गोरखापत्र संस्थानको नाममा रहेको विराटनगरको जमिनसमेत व्यक्तिले हडपेको भन्दै मन्त्री बाँस्कोटाले प्रदेश सरकार र विराटनगर महानगरपालिकाको सहयोगमा त्यो जमिन फिर्ता ल्याइने दाबीसमेत गर्नुभयो । कार्यक्रममा मन्त्री बाँस्कोटाले प्रदेश १ को नाम तत्काल राख्नु राम्रो हुने सुझाव दिनुभएको थियो ।
 
नयाँ अध्याय
सोही कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले गोरखापत्रको पूर्वक्षेत्र प्रकाशन विराटनगरबाट सुरु हुनुलाई नयाँ अध्याय र उचाइको प्रारम्भ भएको बताउनुभएको छ। उहाँले गोरखापत्र दैनिकको विराटनगर प्रकाशन शुभारम्भ हुनु प्रदेश सरकारका लागि समेत खुसी र गौरव भएको बताउनुभयो ।
सरकारी लगानीको संरक्षण गर्नुपर्ने दायित्व सरकारको रहेकाले पूर्वक्षेत्र प्रकाशन विराटनगर संस्करणलाई सफल बनाउन प्रदेश सरकारले भूमिका खेल्ने मन्त्री कार्कीले बताउनुभयो । उहाँले गोरखापत्र संस्थानका सबै प्रकाशनलाई समयानुकूल बनाउनुपर्ने सुझाव दिनुभयो । सरकारको कामकारबाहीको नीतिगत त्रुटि देखाउन पछि नपर्न उहाँले आग्रह गर्नुभयो ।
 
विराटनगरको गौरव
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गोरखापत्र विराटनगरबाट प्रकाशन हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले गोरखापत्र दैनिकको प्रकाशनलाई नगरवासीले गौरव र सम्पत्तिका रूपमा बुझेको बताउनुभयो ।
पूर्वक्षेत्र प्रकाशनसँगै विशेष खोजमूलक समाचार पस्कँदै गोरखापत्र परिवर्तनको संवाहक बन्नुपर्नेमा प्रमुख पराजुलीको जोड थियो । उहाँले विशेष अवसरमा प्रकाशन सुरुआत गरी गोरखापत्र प्रकाशनले नवीन इतिहास रचेको बताउनुभयो ।