नेपालगञ्ज समाचारदाता
नेपालगञ्ज, माघ ३ गते । बाँकेको कोहलपुरमा निर्माण भइरहेको गोरखापत्र संस्थान प्रकाशन गृहको निर्माण कार्य तीव्र रूपमा भइरहेको छ । आगामी फागुन मसान्तसम्म प्रकाशन गृहको निर्माण पूरा गरेर पत्रिका प्रकाशन गरिने तयारीका साथ सो निर्माणलाई तीव्रता दिइएको हो ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई लक्षित गरेर कोहलपुरबाट गोरखापत्र दैनिकलाई प्रकाशन गर्ने उद्देश्यका साथ कोहलपुरको मैटहवामा भौतिक पूर्वाधार निर्माणको कार्य भइरहेको हो । तीन चरणमा निर्माण पूरा गरिने भौतिक पूर्वाधारअन्तर्गत पहिलो चरणमा जग्गाको चारैतिर घेरबार गर्ने कार्य पूरा गरिसकिएको छ भने प्रेस भवन र स्टोरको निर्माण अहिले तीव्र गतिमा भइरहेको छ ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र कानुनी सल्लाहकार भूपाल बस्नेतले निर्माण कार्यको स्थलगत अनुगमन गर्नुभएको छ । सो अवसरमा कार्यकारी अध्यक्ष भण्डारीले निर्धारित समयमै निर्माण कार्य पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै आगामी फागुनबाट आफ्नै छापाखानाबाट पत्रिका प्रकाशन गर्ने योजना रहेको बताउनुभयो ।
उहाँले निर्माणका क्रममा सुधार गर्नुपर्ने पक्ष र कामलाई अझै तीव्रता दिनुपर्ने विषयमा आवश्यक सुझावसमेत दिनुभएको छ । निर्माण कम्पनी उमा महेश्वरी कन्स्ट्रक्सनका सञ्चालक कृष्ण पोखरेलले निर्धारित समयमै काम पूरा गर्ने लक्ष्यका साथ काम गराइरहेको बताउनुभयो ।
अनुगमनका क्रममा कोहलपुर नगरपालिका–३ का वडाध्यक्ष माधव रिजाल र गोरखापत्रको कोहलपुरस्िथत कार्यालयका कर्मचारीहरूको पनि उपस्िथति रहेको थियो । कोहलपुर नगरपालिका–३ का वडाध्यक्ष माधव रिजालले संस्थानको प्रकाशन यहाँबाट सुरु हुनु गौरवको विषय भएको जनाउँदै प्रकाशन गृह निर्माणका लागि सबै प्रकारको सहयोग गरिरहेको बताउनुभयो । कोहलपुरबाट पत्रिका प्रकाशन गर्नका लागि छापाखाना स्थापना गर्ने उद्देश्यले मैटहवामा गत २०७४ सालको साउन ३ गते संस्थानले एक बिघा जग्गा खरिद गरेको थियो । यसअघि गोरखापत्रले पूर्वको विराटनगरमा पनि प्रकाशन गृह तथा कार्यालयको निर्माण पूरा गरेर पत्रिका प्रकाशनको कार्य सुरु गरिसकेको छ ।