गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ११ गते । सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष पदमा गुल्मीका विष्णुप्रसाद सुवेदीलाई नियुक्त गरेको छ । सिंहदरबारमा सोमबार बसेको म‍न्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । यसअघिका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले दिनुभएको राजीनामा गत साउन १९ गते मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । त्यसपछि रिक्त रहेको सो पदमा सुवेदीलाई नियुक्त गरिएको हो ।
व्यावसायिक पत्रकारितामा दुई दशकभन्दा बढी क्रियाशील रहनुुभएका सुवेदीले यसअघि अन्‍नपूर्ण पोस्ट्, नेपालसमय डटकमलगायतका सञ्चारमाध्यममा डिजिटल सम्पादक तथा अन्य नेतृत्वदायी भूमिकामा रहेर कार्य गर्नुभएको छ ।
वि.सं. २०५२ मा ‘हिमालय टाइम्स’ दैनिकबाट पत्रकारिताको व्यावसायिक यात्रा थाल्नुभएका सुवेदीले संसद्, सुरक्षा, भ्रष्टाचारविरोधी तथा राष्ट्रिय राजनीतिका महìवपूर्ण मुद्दामा निरन्तर कलम चलाउँदै आउनुभएको छ । आमसञ्चार तथा पत्रकारिता विषयमा एमफिल तहको अध्ययन गर्नुभएका सुवेदी मिडिया अध्यापन, शोध अध्ययनमा क्रियाशील हुनुहुन्छ । पत्रकारिता क्षेत्रमा व्यावसायिक योगदानको कदर गर्दै उहाँलाई ट्रान्सपरेन्सी इन्टरनेसनल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संस्थाले पुरस्कृत गरेका छन् ।