गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ४ गते
नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले पछिल्लो समयमा गोरखापत्रका समाचार सामग्रीमा स्तरीयता बढेको र परिवर्तन आएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ गोरखापत्र शाखा प्रतिष्ठानको दसौँ साधारण सभामा उहाँले गोरखापत्रका सामग्री खोजेर पढ्न थालिएको बताउनुभयो ।
निजी सञ्चारमाध्यमसँग प्रतिस्पर्धा गर्न सक्ने सञ्चारसामग्री पस्केर गोरखापत्रले आफूलाई फरक ढङ्गबाट प्रस्तुत गरिरहेको चर्चा गर्दै उहाँले निजी व्यावसायिक सञ्चारमाध्यमसँग निरन्तर प्रतिस्पर्धा गर्न अझै मेहनत आवश्यक रहेको बताउनुभयो । उहाँले अहिले गोरखापत्र खोजी–खोजी पढ्न थालिनु गोरखापत्रमा रहेका श्रमजीवी पत्रकारको मेहनतका कारण भएको पुष्टि गरेको बताउनुभयो । उहाँले गोरखापत्रको अनलाइन संस्करणले समेत निकै राम्रो ‘माइलेज’ लिएको र अझै प्रतिस्पर्धामा खरो उत्रने विश्वास व्यक्त गर्नुभयो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले गोरखापत्रको व्यवस्थापनले सदैव श्रमजीवी पत्रकारको हकहितका लागि काम गरिरहेको बताउनुभयो । उहाँले आफूहरूले जिम्मेवारी लिएको १४ महिनामा भएको र यस अवधिमा कुनै पनि श्रमजीवी पत्रकार अन्यायमा नपरेको बताउनुभयो ।
उहाँले निजी सञ्चारमाध्यममा लगानीकर्ताले अनावश्यक नियन्त्रण र हस्तक्षेप हुने भए पनि गोरखापत्रमा कुनै पनि हस्तक्षेप नगरिएको स्पष्ट गर्नुभयो । गोरखापत्रले पछिल्लो समय सरकारको भाषा र भाषणमात्रै नभएर, जनपक्षीय सामग्रीलाई प्राथमिकतामा राखेर प्रकाशन गरेको उल्लेख गर्दै उहाँले गोरखापत्रमा धेरै परिवर्तन आएको प्रतिक्रिया आउन थाल्नु सकारात्मक रहेको टिप्पणी गर्नुभयो ।
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पत्रकार महासङ्घले लोकतन्त्र स्थापनामा खेलेको भूमिका निकै प्रशंसनीय रहेको बताउनुभयो । उहाँले आफूहरूले श्रमजीवी पत्रकारको हकहितका लागि निरन्तर प्रयास गर्ने बताउनुभयो । गोरखापत्रमा कार्यरत पत्रकारले व्यवस्थापनका कारणले समस्या बेहोर्नु नपर्ने बताउनुभयो । गोरखापत्रमा पछिल्लो समय प्रस्तुति शैलीमा आएको परिवर्तन निकै सकारात्मक रहेको उहाँले बताउनुभयो ।
गोरखापत्र दैनिकका प्रधानसम्पादक शिवकुमार भट्टराईले गोरखापत्र सबैको साझा चौतारी रहेको बताउनुभयो । उहाँले गोरखापत्र परिवर्तनको दिशातर्फ अगाडि बढेको बताउँदै गोरखापत्रका सामग्री परिवर्तन सबैको साझा प्रयासले सम्भव भएको र १२२ वर्षदेखि प्रकाशित भइरहेको गोरखापत्र सबैको अभिभावक रहेको प्रस्ट्याउनुभयो । उहाँले पाठकले गोरखापत्रका सामग्री दैनिक रूपमा कुरेर बस्ने गरेकाले गोरखापत्रको विश्वसनीयता नै गोरखापत्रले पस्कने आधिकारिक समाचार रहेको बताउनुभयो ।
द राइजिङ नेपालका सम्पादक भीमसेन थपलियाले पत्रकार महासङ्घले पत्रकारको हकहितका लागि काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले गोरखापत्र पत्रकारिताकै अभिभावक भएकाले यसको अनुशरण अरूले गर्ने हिसाबले काम गर्न आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले गोरखापत्रले करार, अस्थायी सबै पत्रकारलाई समान व्यवहार गर्न अनुरोध गर्नुभयो । उहाँले पछिल्लो समय गोरखापत्रले दिने सामग्री जनपक्षीय बनाइरहेकोमा खुसी व्यक्त गर्नुभयो ।
पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीले गोरखापत्र नेपाली सञ्चारमाध्यमका लागि सेतु रहेको बताउनुभयो । गोरखापत्रले पछिल्लो समय केही नयाँ प्रयास गरिरहेको भन्दै गोरखापत्रको सामग्रीको प्रशंसा गर्नुभयो ।
पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठानका अध्यक्ष सरोज ढुङ्गेलले पत्रकारको हकहितका लागि केही प्रयास गरिरहेको र व्यवस्थापनले समेत निकै सहयोगी भूमिका निर्र्वाह गरिरहेको बताउनुभयो ।
आगामी पुस ८ र ९ गते सुर्खेतमा हुने नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभाका लागि गोरखापत्र संस्थानले महासंघलाई छ सय थान डायरी उपलब्ध गराएको छ । पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठानको साधारण सभामा सोमबार संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीले महासङ्घका महासचिव रोशन पुरीलाई डायरी हस्तान्तरण गर्नुभयो ।