उर्लाबारी समाचारदाता
इटहरी (सुनसरी), कात्तिक ४ गते
गोरखापत्रका प्रदेश १ र मधेश प्रदेशका स्थानीय समाचारदाता र नयाँ नेपाल पृष्ठका संयोजकहरूलाई समाचार लेखन तथा बहुभाषा सन्देशसम्बन्धी प्रशिक्षण दिइएको छ । कार्यक्रममा वरिष्ठ भाषाशास्त्री प्राडा
टङ्कप्रसाद न्यौपानेले विगतदेखि वर्तमानसम्म अखबार भनेकै गोरखापत्र भन्ने मान्यता स्थापित भएकाले मृत शब्दहरूलाई ब्युँताउने जिम्मा गोरखापत्रले लिनुपर्ने धारणाा व्यक्त गर्नुभयो ।
उहाँले बेलायतबाट नेपाल आएका फिड मार्सलले तिम्रो देशमा पत्रिका छैन भनेर सोध्दा तत्कालीन राणा प्रधानमन्त्रीले लिथोबाट छापेर समाचार पढ्न दिएपछि नेपाली पत्रकारिता औपचारिक रूपमा सुरु भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “उस बेलाका शासकहरूले हाम्रो प्रशंसा नछाप्नू भने पनि अहिले गोरखापत्र सरकारी मुखपत्र भएको छ । अहिले सरकारी प्रशंसा छापे पनि गोरखापत्र विगतदेखि वर्तमानसम्म अखबार भनेकै गोरखापत्र भन्ने मान्यता स्थापित भएको छ ।”  उहाँले लोप भएका भाषाहरू, शब्द भण्डार प्रकाशन गर्न गोरखापत्र व्यवस्थापनसँग आग्रह गर्दै मृत शब्दहरूलाई ब्युँताउने जिम्मा गोरखापत्रले लिनुपर्ने बताउनुभयो ।
गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराईको सभापतित्वमा भएको पहिलो चरणको कार्यक्रममा संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक  लालबहादुर ऐरी, नयाँ नेपाल पृष्ठ संयोजक कुमार विवेकानन्द मिश्रको उपस्थिति थियो ।
आजै तेस्रो चरणमा भएको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र वरिष्ठ पत्रकार जगत नेपालले निर्वाचनको समयमा पत्रकारले निर्वाह गर्नुपर्ने आचारसंहिताका विषयमा सहजीकरण गर्नुभएको थियो ।