गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २ गते
गोरखापत्र र दी राइजिङ नेपालका पत्रकारहरूका लागि दुई दिने क्षमता विकाससम्बन्धी प्रशिक्षण बिहीबारबाट सुरु भएको छ । सो अवसरमा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले गोरखापत्रले सरकारका नीति तथा दृष्टिकोणलाई जनतासम्म पुर्‍याउने र जनताका मुद्दा राज्यसम्म पुर्‍याउने सेतुका रूपमा दायित्व निर्वाह गर्दै आएको बताउँदै भन्नुभयो, “प्राथमिक सूचना प्रदान गर्नु, सही र सत्य विषयलाई समाचारमार्फत प्रस्तुत गर्नु र जनतालाई सजग गराउनु गोरखापत्रको काम हो ।”
गोरखापत्रमा रहेर पत्रकारिता गरिसक्नुभएका पत्रकार अधिकारीले आधिकारिक र विश्वसनीय सञ्चारमाध्यमका रूपमा छवि कायम राख्न गोरखापत्र सफल भएको बताउँदै समाजका कान र आँखाको भूमिकामा गोरखापत्र सदैव रहनुपर्ने सुझाव दिनुभयो ।
अर्का पत्रकार गेजा शर्मा वाग्लेले सार्वजनिक सञ्चारमाध्यम जनताप्रति उत्तरदायी हुनुपर्ने बताउँदै भन्नुभयो, “गोरखापत्र स्वायत्त सार्वजनिक संस्था हो । त्यसैले सबैभन्दा विश्वसनीय हुनुपर्छ ।” उहाँले गोरखापत्रले शासकीय, मौलिक हक, भ्रष्टाचार जस्ता विषयलाई प्राथमिकता दिनुपर्ने बताउँदै राजनीतिक दललाई उत्तरदायी बनाउन आलोचनात्मक रिपोर्टिङ गर्नुपर्ने
सुझाव दिनुभयो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्र युगको इतिहास भएकाले हरेक राजनीतिक परिवर्तनमा साक्षी भएको बताउँदै समाचारका प्रस्तुति अझै गुणस्तरीय र विश्वसनीय बनाउन गोरखापत्रका पत्रकार क्रियाशील रहेको बताउनुभयो ।
गोरखापत्रका प्रधानसम्पादक शिवकुमार भट्टराईले नयाँ युगमा पाठक स्मार्ट भइसकेको चर्चा गर्दै अब पाठकको चाहना र समयअनुसार अगाडि बढ्नुपर्ने बेला आएको बताउनुभयो ।
दी राइजिङ नेपालका प्रधानसम्पादक भीमसेन थपलियाले संस्थानका उत्पादनलाई समय सान्दर्भिक बनाउनुपर्ने बताउनुभयो ।