गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २४ गते  
गोरखापत्र प्रकाशनको १२२औँ वर्ष प्रवेश एवं गोरखापत्र संस्थानको ६०औँ स्थापना दिवसका अवसरमा संस्थानमा कार्यरत कर्मचारी एवं पत्रकारहरूलाई सम्मान एवं पुरस्कार प्रदान गरियो ।
संस्थानले शनिबार काठमाडौँमा आयोजना गरेको विशेष समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी तथा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराई र दी राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलियाले पुरस्कार एवं सम्मानपत्र प्रदान गर्नुभयो ।  
समारोहमा मन्त्री कार्कीले गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार, २०७७ गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक श्रीओम श्रेष्ठलाई प्रदान गर्नुभयो । उक्त पुरस्कारको राशि ५५ हजार ५५५ रुपियाँ छ ।
सोही समारोहमा गोरखापत्र उत्कृष्ट कर्मचारी पुरस्कार, २०७८ सूचना प्रविधि विभागअन्तर्गत कम्प्युटर/सीटूपी शाखामा तह ८ का प्रबन्धक पदमा कार्यरत नरेन्द्रबहादुर श्रेष्ठलाई प्रदान गरियो । त्यस्तै गत वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार पनि सोही समारोहमा रामकुमार बस्नेतलाई प्रदान गरियो । दुवै जनालाई जनही २५ हजार रुपियाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।  
त्यस्तै गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक भट्टराईले काठमाडौँ उपत्यकालगायत विभिन्न प्रदेशअन्तर्गत रहेर उत्कृष्ट काम गर्दै आएका समाचारदातालाई सम्मानपत्र प्रदान गर्नुभयो । उहाँँले खोजी समाचारमा उत्कृष्ट कार्य गरेबापत देवबहादुर कुँवरलाई पाँच हजार रुपियाँ नगदसहित सम्मान प्रदान गर्नुभयो ।
त्यस्तै काठमाडौँ उपत्यकाबाट नेपालीतर्फ उपेश महर्जन र अङ्ग्रेजीतर्फ रेणुका ढकाललाई सम्मानपत्र प्रदान गरियो । गत वर्ष घोषणा भएर कोभिडका कारण वितरण हुन नसकेको सम्मान उपत्यका समाचारदाता भउचप्रसाद यादव र दी राइजिङ नेपालका समाचारदाता आशिष मिश्रलाई प्रदान गरिएको थियो ।


रामचन्द्र–इन्दु पत्रकारिता पुरस्कार आचार्यलाई
नेपाल पत्रकार महासङ्घ गोरखापत्र शाखाद्वारा स्थापित रामचन्द्र–इन्दु पत्रकारिता पुरस्कार–२०७९ गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक निर्मलकुमार आचार्यलाई प्रदान गरियो । २०७८ सालको सोही पुरस्कार गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष ओम शर्मालाई प्रदान गरियो । यस पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ ।
त्यस्तै महासङ्घले नै प्रदान गरेको गोरखापत्र पत्रकारिता पुरस्कार, २०७८ गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक केपी गौतम र मुना मासिकका निमित्त सम्पादक हरिप्रसाद भट्टराईलाई प्रदान  गरियो । त्यस्तै २०७६ सालको सोही पुरस्कारबाट गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक पुष्पराज जोशी र २०७७ सालको  पुरस्कारबाट दी राइजिङ नेपालका नायब कार्यकारी सम्पादक रमेश लम्साललाई सम्मानित गरियो ।
त्यस्तै सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार, २०७९ इश्वरचन्द्र झालाई प्रदान गरिएको छ । कोभिड–१९ का कारण गत वर्षहरूमा प्रदान गर्न नसकिएका सोही पुरस्कार सहसम्पादक शरदराज सुवेदी र उपत्यका समाचारदाता नगेन्द्र सापकोटालाई प्रदान गरियो । ती पुरस्कारको राशि जनही १० हजार रुपियाँ रहेको छ । गोरखापत्रका पत्रकार सुमन भोम्जनको २०७२ सालको भूकम्पमा परेर निधन भएको थियो ।
सोही समारोहमा गोरखापत्र दैनिकका पूर्वसम्पादक स्वर्गीय रामचन्द्र गौतमकी धर्मपत्नी इन्दु गौतमलाई पत्रकार महासङ्घ गोरखापत्र शाखाले सम्मानपत्र प्रदान गरेको थियो । श्रीमती गौतमले स्वर्गीय पतिको स्मृतिमा हरेक वर्ष गोरखापत्रका पत्रकारलाई पुरस्कार प्रदान गर्नका लागि अक्षयकोष स्थापना गर्नुभएको छ ।
सोही समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले गोरखापत्र संस्थानमा क्रियाशील नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले हरेक वर्ष प्रदान गर्दै आएको जागरुक जनसेवक सम्मान वितरण गर्नुभयो । उक्त सम्मान वितरण विभागका निमित्त निर्देशक सोमबहादुर घले, उत्पादन विभागका वरिष्ठ प्रेस अधिकृत हरिकण्ठलाल श्रेष्ठ र ग्राहक सेवा शाखामा कार्यालय सहयोगी पदमा कार्यरत दुखी मण्डललाई प्रदान गरियो ।

९० जनालाई दीर्घ सेवा पदक  
समारोहमा संस्थानमा २० वर्ष  सेवा पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक र २५ वर्ष पूरा गर्ने कर्मचारीलाई स्वर्ण पदकबाट सम्मान गरियो । विगत दुई वर्षदेखि वितरण हुन नसकेको उक्त पदक शनिबार ९० जनालाई प्रदान गरिएको संस्थानले जनाएको छ । सोही अवसरमा गोरखापत्र दैनिक र दी राइजिङ नेपालको नयाँ डिजाइन र लेआउट तयार गर्न विशेष योगदान गरेबापत डिजाइनर रामकृष्ण रानामगरलाई पनि सम्मान गरियो ।