गोरखापत्र समाचारदाता
काठमाडाँै, जेठ १२ गते
गोरखापत्रका प्रकाशनहरूको डिजिटाइजेसनका लागि गोरखापत्र संस्थान र राष्ट्रिय अभिलेखालयबीच सम्झौता भएको छ । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र राष्ट्रिय अभिलेखालयका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बिहीबार सझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।
संस्थानले गोरखापत्र, दी राइजिङ नेपालसहितका प्रकाशनको डिजिटल अभिलेख तयार पार्दैछ । १२१ वर्षको इतिहास बोकेको संस्थानले हाल सञ्चालित तथा यसअघि बन्द भइसकेका सम्पूर्ण प्रकाशनको डिजिटल अभिलेखीकरण गरी वेबमा आधारित खोजी गर्न मिल्ने गरी विकास गर्दैछ । उक्त डेटाबेसमा पाठकले गोरखापत्र संस्थानका सम्पूर्ण प्रकाशन सजिलै पढ्न पाउनेछन् ।
अभिलेखालयमा १९५८ देखि २०२८ सालसम्मका गोरखापत्रको माइक्रोफिल्म सुरक्षित छ । सम्भव भएसम्म माइक्रोफिल्मबाट र सम्भव नभएमा हार्डकपीबाट डिजिटलमा रूपान्तरण गर्ने तथा २०२९ सालपछिका गोरखापत्रलाई हार्डकपीबाट डिजिटाइजेसन गरी आधुनिक प्रविधिमा सुरक्षित गर्ने समझदारीपत्रमा उल्लेख छ ।
समझदारीपत्रअनुसार संस्थान र अभिलेखालयले दुवै निकायमा पूर्ण सङ्कलन नरहेका प्रकाशनलाई एकत्रित गर्नेछन् । गोरखापत्र संस्थानका सम्पूर्ण प्रकाशनलाई उच्चतम गुणस्तरको प्रविधि प्रयोग गरी डिजिटाइजेसन गरिनेछ ।
यस्तै, संस्थानको सङ्कलनमा रहेका ऐतिहासिक तस्बिर तथा फिल्म रिलहरूको पनि डिजिटाइजेसन गरिनेछ । गोरखापत्र संस्थानका सम्पूर्ण प्रकाशनको गुणस्तरीय डिजिटल इमेज तयार तथा सङ्कलन गरी एकत्रित गर्ने तथा यसरी तयार गरिएका डिजिटल इमेजहरूको बहुप्रति उत्पादन गरी संस्थान र अभिलेखालयमा छुट्टाछुट्टै भण्डारण गर्ने सम्झौतापत्रमा उल्लेख छ ।
सम्झौतापत्र आदानप्रदानपछि अभिलेखालयका महानिर्देशक प्रधानाङ्गले गोरखापत्र नेपालको इतिहास, समाज, राजनीतिलगायत विषयका अनुसन्धानकर्ताका लागि सूचना र ज्ञानको भरपर्दो स्रोत भएको बताउनुभयो ।
संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले गोरखापत्र एउटा पत्रिका मात्र नभएर मुलुकको राजनीतिक, सामाजिक इतिहासको ऐनासमेत भएकाले यसको संरक्षणमा विशेष ध्यान दिइने बताउनुभयो । “भावी पुस्ताले इन्टरनेटमार्फत हाम्रा ऐतिहासिक महìवका प्रकाशनहरूको अभिलेखमा पहुँच पाउनेछन्,” उहाँले भन्नुभयो, “अत्याधुनिक प्रविधि पनि जोडिएकाले यो कार्यलाई सम्पन्न गर्नु चुनौतीपूर्ण पक्कै छ तर हामी यो चुनौती सफलतापूर्वक सामना गर्न तयार छौँ ।”