गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २४ गते
मुलुककै पहिलो पत्रिका गोरखापत्र १२२ वर्षमा प्रवेश गरेको छ । यस वर्ष प्रवेशसँगै गोरखापत्र डिजिटल प्रविधिमैत्री भई पाठकसामु जाने भएको छ ।
गोरखापत्र दैनिकको १२२औँ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा गोरखापत्र र गोरखापत्रका सहप्रकाशनलाई स्मार्ट बनाउने प्रतिबद्धता व्यक्त गरियो । गोरखापत्रको १२२औँ वर्ष प्रवेशका अवसरमा शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले गोरखापत्रले वर्तमान डिजिटल युगसुहाउँदो परिवर्तन र सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गोरखापत्रलाई सन्तुलित, प्रतिस्पर्धी र व्यावसायिक बनाउन संस्थानका उत्पादनको गुणस्तर अझै परिष्कृत गर्दै प्रविधिमैत्री बनाउनु आवश्यक रहेको बताउनुभयो ।
समारोहमा वाचन गरिएको प्रधानमन्त्रीको सन्देशमा गोरखापत्र दैनिक मुलुकको राजनीतिक र सामाजिक इतिहासको साक्षी रहेको उल्लेख छ । उहाँले नेपालको सभ्यता, संस्कृति र साहित्यको प्रवद्र्धनमा गोरखापत्रले महìवपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो । नेपाली पत्रकारिताको संस्थागत विकासमा समेत गोरखापत्र प्रकाशनको विशिष्ट भूमिका रहेको उल्लेख गर्नुहुँदै उहाँले पठाउनुभएको सन्देशमा आगामी दिनहरूमा पाठकले संस्थानका प्रकाशनहरू सहज रूपमा विभिन्न स्वरूपमा पढ्न पाउने र सबै नेपालीको आवाज प्रतिनिधित्व गर्ने विश्वसनीय एवं जिम्मेवार मिडियाका रूपमा विकास गर्न सकोस् भन्ने शुभकामना दिनुभएको छ ।
समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्र दैनिक समृद्ध साहित्य र भाषिक विविधताको धरोहर भएको बताउनुभयो । गोरखापत्र अखबारमात्रै नभई, गौरवशाली संस्था रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “गोरखापत्र २००७ सालदेखि हरेकप्रकारको राजनीतिक क्रान्ति, मुलुकको खुला र नियन्त्रित दुवै समाजको साक्षी बनेको छ ।”
गोरखापत्र सरकारी पत्रिकामात्रै नभएको बताउँदै मन्त्री कार्कीले भन्नुभयो, “जनतालाई आभास दिलाउनेगरी गोरखापत्रले समाचार सम्प्रेषण गर्नुपर्छ । प्रतिस्पर्धी समयमा गोरखापत्र व्यवस्थापनले आफूलाई पनि सोहीअनुसार परिमार्जन गर्दै जानुपर्छ ।” उहाँले सरकार सधैँ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रका समस्या र अवसरबारे सरकार जानकार रहेको भन्दै संविधानले परिकल्पना गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सरकारले दक्षिण एसियामै उन्नत बनाउन चाहेको स्पष्ट पार्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले गोरखापत्रले ३८ भाषामा सूचना सामग्री प्रकाशन गरेर भाषा र संस्कृति सम्बद्र्धन गरेको बताउनुभयो । गोरखापत्रले प्रविधिमैत्री बनेर छरितो तरिकाले सत्य तथ्य सामग्री प्रकाशन गर्न सक्नुपर्ने उहाँले बताउनुभयो ।
संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले प्रविधिको उच्चतम प्रयोग गरेर स्मार्ट गोरखापत्र बनाउनेतर्फ व्यवस्थापन लागेको बताउनुभयो । प्रतिस्पर्धात्मक बजारमा प्रविधिसँगै अद्यावधिक भएर चुनौती सामना गर्न आफूहरू तयार रहेको बताउँदै उहाँले भन्नुभयो, “भर्खरै गोरखापत्र दैनिक, दी राइजिङ नेपाल अङ्ग्रेजी दैनिक तथा अनलाइनको समेत डिजाइन परिवर्तन भएको छ ।”
गोरखापत्रको कोहलपुरबाट प्रकाशन आरम्भ, तीन वर्षदेखि रोकिएको जनशक्ति पदपूर्ति गर्न संस्थानको विनियमावली संशोधन तथा आर्थिक कारोबारलाई पारदर्शी र स्तरीय बनाइएको पनि सुवेदीले जानकारी गराउनुभयो । तर, संस्थानको केन्द्रीय कार्यालय रहेको भवन अत्यन्तै जीर्ण भएकाले काम गर्नसमेत कठिनाइ भएको गुनासो गर्दै उहाँले भन्नुभयो, “हामी स्मार्ट हुने कोसिस गरिरहेका छौँ । तर, २०७२ सालको भूकम्पबाट जीर्ण भएर बस्नै नहुने भनेर प्रमाणित भएको भवनभित्र रहेर काम गर्न बाध्य छौँ ।” उहाँले यस विषयलाई गम्भीरतासाथ ग्रहण गरिदिनुहुन मन्त्री र सचिवलाई अनुरोध गर्नुभयो ।
संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रप्रति नागरिकको विश्वासलाई जोगाइराख्न चुनौती रहे पनि आफूहरू त्यसमा प्रतिबद्ध रहेको बताउनुभयो । गोरखापत्रप्रतिको परम्परागत धारणामा परिवर्तन गर्न प्रदेश तथा स्थानीय तहसँग साझेदारी गर्ने विषयमा व्यवस्थापन लागेको पनि उहाँले बताउनुभयो ।
बागमती प्रदेशका पूर्वप्रमुख तथा माइती नेपालका संस्थापक अनुराधा कोइरालाले जनतालाई स्तरीय र विश्वसनीय समाचार प्रस्तुत गरेकोमा गोरखापत्रलाई धन्यवाद दिँदै भविष्यमा पनि जनताकै पत्रिका बनोस् भन्ने शुभेच्छा प्रकट गर्नुभयो । गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराईले समाचारको विश्वसनीयता र आधिकारिकता नै गोरखापत्रको पुँजी भएको बताउनुभयो । पछिल्ला दिनहरूमा गोरखापत्रले प्रकाशन गर्ने गरेका समाचारका कारण प्रतिस्पर्धी सञ्चारमाध्यमलाई समेत चुनौती थपिदिएको उहाँले बताउनुभयो ।
दी राइजिङ नेपालका निमित्त प्रधानसम्पादक भीमसेन थपलियाले गोरखापत्रलाई अहिलेको स्थानसम्म ल्याउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको मामिलामा गोरखापत्र उदाहरणीय बन्नुपर्ने बताउनुभयो ।