गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २४ गते
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई सूचना र जानकारीका लागि गोरखापत्र दैनिक आधिकारिक र भरपर्दो माध्यम रहेको बताउनुभएको छ ।
गोरखापत्र दैनिकको १२३औँ तथा गोरखापत्र संस्थानको ६१औँ वर्ष प्रवेशका अवसरमा आइतबार राजधानीमा आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले गोरखापत्रलाई अझै विश्वसनीय, डिजिटल र युग सुहाउँदो बनाउन पनि संस्थाको आन्तरिक सुधार तथा पुनर्संरचना आवश्यक रहेको बताउनुभयो ।
पछिल्ला दिनमा गोरखापत्र तथा अन्य प्रकाशनहरूको लेआउट डिजाइनमा भएको परिवर्तनसँगै यसको सामग्रीको प्रस्तुति र गुणस्तरमा देखिएको सुधार स्मरणीय रहेको सो अवसरमा प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा यसलाई थप परिमार्जित र विकसित तुल्याउने जिम्मेवारीसमेत गोरखापत्रमा आबद्ध सञ्चारकर्मी र कर्मचारीको काँधमा छ ।”
डिजिटल मिडियाको तीव्र विकास तथा विस्तारसँगै छापा पत्रकारिताको यात्रा थप चुनौतीपूर्ण बन्दै गएको बताउँदै उहाँले भन्नुभयो, “समयको माग र प्रविधिको गतिअनुसार अब यो संस्थाले पनि आफूलाई रूपान्तरण गर्न जरुरी छ । अहिलेको प्रतिस्पर्धात्मक बजारमा खरो रूपमा उतार्न संस्थाले अझ जिम्मेवार, व्यावसायिक तथा विश्वसनीय भएर आफूलाई अघि बढाउनु पर्छ ।”
बदलिँदो परिस्थिति अनुसार पत्रिकालाई नयाँ ढाँचामा लैजानुपर्ने तथा सामग्रीको गुणस्तरमा पनि ध्यान दिन निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “गोरखापत्रले राज्यका हरेक अङ्गको कार्य सम्पादनलाई जिम्मेवार बनाउन भूमिका निर्वाह गर्नुपर्छ ।”
समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली भाषा र साहित्य तथा पत्रकारिताको विकासमा गोरखापत्रको योगदान महìवपूर्ण रहेको बताउनुभयो । गोरखापत्र र गोरखापत्र संस्थानका अन्य प्रकाशनलाई पनि विधागत, माध्यमगत र प्रविधिगत रूपमा प्रतिस्पर्धी बनाउँदै चुनौती र अवसर दुवै दिएको बताउँदै मन्त्री शर्माले भन्नुभयो, “आम मानिसमा विस्तार हुँदै गएको सूचनाको पहुँच र प्रविधिको सहज प्रयोगबाट गोरखापत्रले पाठक वृद्धि गर्न सक्नुपर्छ । बजारमा प्रतिस्पर्धी मात्र होइन, अगुवा पत्रिकाका रूपमा स्थापित गर्न आन्तरिक व्यवस्थापन सबल बनाउन जरुरी छ ।”
गोरखापत्रले जनतालाई आशावादी बनाउने किसिमको सूचना प्रवाह गर्नुपर्ने पनि मन्त्री शर्माले बताउनुभयो । आर्थिक र जनशक्ति व्यवस्थापन दुवै हिसाबले आन्तरिक व्यवस्थापन सबल बनाउन सकेको अवस्थामा गोरखापत्र संस्थानको भविष्य उज्यालो रहेको समेत मन्त्री शर्माले बताउनुभयो ।
तर अब संस्थानको पुनरसंरचना जरुरी भइसकेको बताउँदै मन्त्री शर्माले भन्नुभयो, “गोरखापत्र संस्थानको संरचनागत अवस्था र यसको व्यवस्थापकीय पक्षको गहिरो अध्ययन गरी भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, बजारको अवस्था र प्रतिफलको लेखाजोखा गर्नुपर्ने समय आइसकेको छ ।”
संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले गोरखापत्र दैनिकले पछिल्लो समय जनजीविकाका मुद्दाका सवालमा खोजमूलक तथा विश्लेषणात्मक समाचार सामग्री पाठकमाझ पस्किइरहेको जानकारी गराउनुभयो । गोरखापत्र मुलुकको हरेक राजनीतिक परिवर्तन तथा सामाजिक रूपान्तरणको सव्रिmय साक्षीका रूपमा रहेको बताउँदै कार्यकारी अध्यक्ष सुवेदीले भन्नुभयो, “गोरखापत्रलाई सरकारको मुखपत्रको रूपमा मात्रै चित्रित गरेर सरकारको भाका र भाषा मात्रै बोल्छ भन्ने भाष्य थियो । यो भाष्यलाई अन्त्य गर्ने प्रयास हामीले गरेका छौँ । हिजोआज निजी सञ्चार माध्यमभन्दा पनि एक कदमअघि बढेर समाचार सामग्री प्रस्तुत
 गरिरहेका छौँ ।”
पछिल्ला दिनमा गोरखापत्र र दी राइजिङ नेपालको लेआउट र भाषामा सुधार गरेको, गोरखापत्रको सामग्रीलाई सुरक्षित गर्न डिजिटल अर्काइभमा राख्ने काम अन्तिम चरणमा पुगेको तथा संस्थानभित्रै अत्याधुनिक ल्याब निर्माण गरिएको सो अवसरमा कार्यकारी अध्यक्ष सुवेदीले जानकारी गराउनुभयो ।
आफूहरूले गरेको सुधारको काममा सरोकारवालाबाट समेत निकै राम्रो प्रतिव्रिmया आएको र यसको नतिजा प्रतिफलमा समेत देखिएको सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रिकाले गत वर्षको यही समयको तुलनामा आम्दानीबापतको खुद आम्दानीमा २० प्रतिशत आम्दानी वृद्धि गरेको छ । यसले पत्रिकालाई थप स्वावलम्बी बन्न सहयोग पुर्‍याएको छ । यसको भविष्यलाई पनि सबल बनाउनुपर्ने छ ।”
२०७२ सालको भूकम्पबाट क्षतविक्षत भएको भवनमा अझै पनि संस्थान अन्तर्गतका केही शाखाको काम चलाउनुपरेको, विनियमावली नहुँदा पाँच वर्षदेखि कर्मचारीको वृत्ति विकास रोकिएको जानकारी गराउँदै सुवेदीले यी समस्या समाधानका लागि पहल गरिदिन प्रधानमन्त्री र सञ्चार तथा सूचनामन्त्रीलाई अनुरोध गर्नुभयो । संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र संस्थानले सबैखाले पाठकको रुचिलाई पूर्ति गर्ने गरी विभिन्न प्रकाशनमार्फत सामग्री सम्प्रेषण गरिरहेको बताउनुभयो । संस्थानको स्थायित्वका लागि हालका व्यवस्थापनबाट प्रयास भइरहेको बताउँदै उहाँले सरकारी पक्षबाट हाल भइरहेको सहयोगलाई अझ वृद्धि गरिदिन अनुरोध गर्नुभयो । गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराईले गोरखापत्रले जनताको आवाजलाई सरकारसमक्ष पुर्‍याउने सेतुका रूपमा काम गरिरहेको बताउनुभयो । गोरखापत्रले दिने आधिकारिक र सत्य सूचनाकै कारण पाठकको रोजाइमा परेको भट्टराईले सो अवसरमा बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्कालगायतले पछिल्लो समय गोरखापत्रले राज्यका संरचनामा भएका अनियमितताका विषयमा निजी सञ्चार माध्यमलाई समेत उछिनेर निरन्तर समाचार लेखिरहेको बताउनुभयो ।