गोरखापत्र समाचारदाता


काठमाडौँ, चैत २५ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको चैत २२ गतेको निर्णयअनुसार गोरखापत्र संस्थानको सञ्चालक समितिको सदस्यमा पत्रकारद्वय सचिन पोख्रेल र चामप्रसाद धमला (चेतन धमला) मनोनयन हुनुभएको छ । गोरखापत्र संस्थान ऐन, २०१९ अनुसार, उहाँहरूको कार्यकाल चार वर्षको हुने मन्त्रालयले जनाएको छ । सदस्यद्वय पोख्रेल र धमला लामो समयसम्म पत्रकारिता क्षेत्रमा कार्यरत हुनुहुन्छ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–१ स्थायी बसोबास गर्दै आउनुभएका पोख्रेल २०५० सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । वि.सं. २०५५ माघ २१ बाट गोरखापत्र दैनिकको स्थानीय समाचारदाता हुनुभएका पोख्रेल हाल गोरखापत्र दैनिकको प्रदेश १ संयोजक हुनुहुन्छ । पत्रकारिता तथा सामाजिक क्षेत्रमा सक्रिय पोखरेल गोरखा दक्षिणबाहु, सुबल जनसेवाश्री पदक, प्रधानसेनापति प्रशंसा निशान आदिबाट विभूषित तथा सम्मानित हुनुहुन्छ ।
यसैगरी, सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–८ निवासी धमला २०६० सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । रेडियो पत्रकारितालाई मुख्य पेसाका रूपमा अँगाल्नुभएका धमला सप्तकोसी एफएम हुँदै हाल इटहरी एफएमको अध्यक्ष हुनुहुन्छ । उहाँ सामाजिक क्षेत्रमा समेत आबद्ध हुनुहुन्छ ।