गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १७ गते । गोरखापत्र संस्थानको महाप्रबन्धकमा लालबहादुर ऐरी नियुक्त हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–७ निवासी पत्रकार ऐरीलाई संस्थानको महाप्रबन्धकमा नियुक्त गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फागुन २७ गते संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको थियो । सहभागी १० जना प्रतिस्पर्धीबाट सरकारले उहाँलाई सिफारिस गरेको हो ।
२०६२/६३ सालमा मोफसलबाट सक्रिय पत्रकारिता सुरुवात गर्नुभएका ३४ वर्षीय ऐरी कान्तिपुर टेलिभिजनमा जिल्ला ब्युरो प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो । त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभागबाट एमफिल गर्नुभएका ऐरीसँग पत्रकारिता र व्यवस्थापनको क्षेत्रमा १८ वर्षको अनुभव छ । उहाँले रेडियो सुदूर आवाज डडेल्धुराको स्टेसन म्यानेजर, राष्ट्रिय समाचार समिति (रासस) र कान्तिपुर दैनिकमा जिल्ला र केन्द्रमा करिब डेढ दशक सक्रिय पत्रकारिता गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ डडेल्धुरा शाखाको सचिव र नेपाल प्रेस युनियन डडेल्धुराको संस्थापक सभापतिको जिम्मेवारीसमेत उहाँले निर्वाह गर्नुभएको छ । हाल उहाँ युनियनको सुदूरपश्चिम प्रदेश संयोजक हुनुहुन्छ ।
गोरखापत्रजस्तो ऐतिहासिक तथा गौरवमय इतिहास बोकेको दक्षिण एसियाकै  पुरानो अखबारमा नयाँ सदस्यका रूपमा काम गर्ने अवसर पाउनु आफ्ना लागि गर्वको विषय भएको प्रतिक्रिया उहाँले दिनुभयो ।
नेपाल सरकार र सहयोगीप्रति आभार व्यक्त गर्दै, उहाँले गोरखापत्रमा आबद्ध दक्ष र अनुभवी पत्रकार तथा कर्मचारीहरूसँग सहकार्य गरी संस्थानको सुधार र हितमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैबीच न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा सङ्गीता खड्का नियुक्त हुनुभएको छ । मन्त्रालयले फागुन २७ गते समितिको अध्यक्षका लागि दरखास्त आह्वान गरेको थियो । त्यसैको सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले खड्कालाई अध्यक्ष नियुक्त गरेको हो । विभिन्न सञ्चार संस्थामा काम गर्नुभएकी उहाँ नेपाल पत्रकार महासङ्घको पूर्वसचिव हुनुहुन्छ ।