गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर ८ गते । गोरखापत्र संस्थान वितरण विभागका निमित्त निर्देशक सोमबहादुर घले ५८ वर्षको उमेर हदका कारण भोलि शुक्रबारबाट संस्थानको सेवाबाट बिदाइ लिनुभएको छ । उहाँले अस्थायी सेवासमेत गरी संस्थानमा ४२ वर्ष सेवा गर्नुभयो । 

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी  र महाप्रबन्धक लालबहादुर ऐरीले निमित्त निर्देशक घलेलाई सम्मानपत्र प्रदान गर्नुभयो । बिदाइ कार्यक्रममा गोरखापत्र दैनिकका प्रधान सम्पादकलगायत विभिन्न प्रकाशनका प्रमुख, विभागीय प्रमुखसहितले निमित्त निर्देशक घलेलाई खादा र माला लगाई बिदाइ गर्नुभयो । 

बिदाइ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यकारी अध्यक्ष सुवेदीले ४२ वर्षको ऊर्जाशील समय संस्थानमा बिताउनु भएको छ, उहाँ संस्थानको आजीवन सदस्य रहनुभएको र अब पनि सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो । 

यस्तो हार्दिकता र सद्भावका साथ बिदाइ हुन पाउनु हामी सबैले गर्व गर्न सक्नुपर्छ भन्दै अध्यक्ष सुवेदीले निमित्त निर्देशक घलेको भावी जीवन सुखमय रहोस् भनी शुभकामना व्यक्त गर्नुभयो । 

आफ्नो अनुभव सुनाउनु हुँदै निमित्त निर्देशक घलेले संस्थानको लामो सेवा अवधिमा निकै उतार चढाव भोग्नु परेको   राणा कालमा पनि तामाङ र नेपाल भाषामा सामग्री छापिएको स्मरण गर्नुभयो । 

गोरखापत्र नेपाली पत्रकारिताकोे ज्युँदो इतिहास बोकेको अखबार रहेकाले यसको भविष्य उज्ज्वल रहेको छ भन्दै निमित्त निर्देशक घलले ३८ राष्ट्र भाषामा समाचार सामग्री पस्कने गोरखापत्रलाई सबैले माया गर्नुपर्छ भन्नुभयो ।