धनुषा समाचारदाता

जनकपुरधाम, मङ्सिर १७ गते । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले गोरखापत्रको प्रदेश संस्करणका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्ति गर्नुभयो । प्रदेश २ को समग्र भाषा संस्कृति संरक्षण तथा प्रवद्र्धनमा सहयोग गर्न राष्ट्रको मुखपत्र गोरखापत्रको प्रदेश संस्करण आवश्यक रहेको उहाँले बताउनुभयो । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा शुक्रबार प्रदेश २ का सञ्चारमन्त्री साह र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीका बीच अनौपचारिक भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
प्रदेशका सांस्कृतिक परम्पराले भरिपूर्ण यहाँको चाडपर्व, रीतिरिवाज, रहनसहन, भाषा संस्कृति ऐतिहासिक परम्परा झल्किने हुँदा यसलाई उजागर गर्न गोरखापत्र संस्थानलाई मन्त्री साहले आग्रह गर्नुभएको हो । साथै उहाँले समाचारमार्फत पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गर्नसमेत आग्रह गर्नुभयो । सञ्चार क्षेत्र प्रवद्र्धनका लागि प्रदेश सरकार र सञ्चारमन्त्रीको हैसियतले आफू सधैँ तत्पर रहने मन्त्री साहले बताउनुभयो ।
संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले नेपालमै सबैभन्दा बढी पाठक यही प्रदेश २ मा रहेको बताउँदै डिजिटल संस्करणमार्फत अगाडि बढाउने गृहकार्य भइरहेको सञ्चारमन्त्री साहलाई जानकारी गराउनुभएको थियो । उहाँले प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न गोरखापत्र तयार रहेको बताउनुभयो ।
उक्त भेटमा गोरखापत्रका प्रधान सम्पादक शिवकुमार भट्टराई, गोरखापत्र दैनिक प्रदेश २ का संयोजक धीरेन्द्रप्रसाद साह, गोरखापत्रका पत्रकार कन्हैयालाल केशरीलगायतको उपस्थिति थियो ।