सिराज खान
नेपालगञ्ज, फागुन २ गते
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गोरखापत्र नेपालको इतिहास मात्र नभई नेपाली जनताको आवश्यकता र ढुकढुकी भएको बताउनुभएको छ । बाँकेको कोहलपुरस्थित गोरखापत्र संस्थान पश्चिम क्षेत्रीय प्रकाशन कार्यालयको मङ्गलबार स्थलगत निरीक्षण गर्दै उहाँले गोरखापत्र राष्ट्रको पत्रिका र आवाज भएकाले यसलाई देशको हरेक क्षेत्रका जनतासम्म पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।
गोरखापत्रले अहिले निजी क्षेत्रका सञ्चार माध्यमसँग प्रतिस्पर्धा गर्दै आफ्नो गरिमालाई जोगाएर अघि बढ्नुपर्ने चुनौती रहेको उल्लेख गर्दै उहाँले सो चुनौती वहन गर्न सबैले आफ्नो ठाउँबाट आवश्यक योगदान गर्नुपर्ने बताउनुभयो । गोरखापत्रले उत्पीडित र पछाडि परेका जनताको समस्या र आवश्यकतालाई राज्यसम्म पुर्‍याउनुपर्नेमा जोड दिँदै उहाँले यसले राज्य र जनता दुवैको आवाजको प्रतिनिधित्व गरिरहेको बताउनुभयो ।
सरकारले गोरखापत्रलगायत अन्य सरकारी सञ्चार माध्यमलाई सशक्त बनाउन कुनै पनि कसर बाँकी नराख्ने जनाउँदै मन्त्री शर्माले त्यसका लागि आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराइने बताउनुभयो । कोहलपुरमा स्थापना गरिएको गोरखापत्रको प्रेसलगायतको संरचना लुम्बिनी प्रदेशका लागि मात्र नभई समग्र पश्चिम नेपालका लागि भएकाले सोहीबमोजिम यसको सदुपयोग गर्नुपर्नेमा उहाँको विशेष जोड थियो ।
कोहलपुर प्रकाशनको शुभारम्भसँगै समग्र पश्चिम नेपालमा पत्रिकाको पहुँच सहज भएकोमा खुसी व्यक्त गर्दै मन्त्री शर्माले अब यसलाई कसरी बढीभन्दा बढी पाठकसमक्ष पुर्‍याउने भन्नेतर्फ लाग्नुपर्ने सुझाव दिनुभयो ।
सो अवसरमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले पछिल्लो समय गोरखापत्रको आर्थिक प्रगतिसँगै भौतिक र अन्य प्रगति उल्लेख्य भएको जनाउँदै संस्थानलाई सक्षम र सबल बनाउन व्यवस्थापन क्रियाशील रहेको बताउनुभयो । उहाँले आफू नियुक्त भएर आएको बेला कोहलपुरस्थित यस कार्यालयको अवस्था लथालिङ्ग रहेको जनाउँदै सामूहिक प्रयासमा अहिले यो अवस्था आएको जनाउनुभयो । गोरखापत्रको इतिहासलाई जीवन्त राख्दै यसलाई समग्र राष्ट्रको पत्रिका बनाउन सफल भएको पनि उहाँले बताउनुभयो ।
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पहिलेको तुलनामा गोरखापत्रको अहिले समग्र क्षेत्रमा प्रगति भएको बताउनुभयो ।
मन्त्री शर्माले कोहलपुरस्थित नेपाल टेलिभिजनको क्षेत्रीय प्रसारण केन्द्रको पनि मङ्गलबार निरीक्षण गर्नुभयो ।
यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले विज्ञान र प्रविधिमा आवश्यक प्रगतिसँगै त्यसको सही सदुपयोगबाट मात्र देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ । हिमालय साइन्स फाउन्डेसनद्वारा नेपालगञ्ज रङ्गशालामा पहिलो पटक आयोजना गरिएको हिमालयन विज्ञान मेलाको मङ्गलबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
संविधान सभाका पूर्वउपाध्यक्ष पूर्णाकुमारी सुवेदीले विज्ञान र प्रविधिको विकासले देशको समृद्धि र विकासमा ठूलो टेवा पुग्ने बताउँदै कृषि र रोजगारलाई पनि प्रविधिसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
दुई दिनसम्म चल्ने सो मेलामा विभिन्न विद्यालयका विद्यार्थीद्वारा बनाइएका विज्ञान र प्रविधिसम्बन्धी २५ भन्दा बढी स्टल राखिएको फाउन्डेसनले जनाएको छ । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले तयार पारेका सामग्री मेलामा प्रदर्शनका लागि राखिएको छ । मेला अवलोकनका लागि अत्यधिक सङ्ख्यामा विभिन्न विद्यालयका विद्यार्थी र युवा रङ्गशाला पुगेका थिए ।