छविलाल पाण्डे

बुटवल, फागुन २ गते । गोरखापत्रको फागुन ७ गतेदेखि हुने औपचारिक कोहलपुर संस्करणको पूर्व सन्ध्यामा प्रदेश ५ को राजधानी बुटवलमा शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेशबाटै गोरखापत्र प्रकाशन हुने भएपछि गोरखापत्रलाई आम पाठकको प्रिय पत्रिका बनाउन कार्यक्रमका सहभागीहरुले संस्थानको ध्यानाकर्षण गराएका छन् ।

सो अवसरमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले गोरखापत्रलाई संघीय संरचनामा लैजाने अभियान शुरु भइसकेको जानकारी दिदैँ फागुन ७ गते औपचारिक रुपमा कोहलपुरबाट प्रकाशन आरम्भ गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले यसअघि असोज ३ देखि विराटनगरबाट प्रकाशन सुरु भइसकेको जानकारी दिदै गोरखापत्रलाई कसरी देशैभरी पुर्‌‍‌याउन सकिन्छ भन्ने ध्येयले यसको वितरणलाई अझै प्रभावकारी बनाउन थालिएको बताउनुभयो ।

कार्यकारी अध्यक्ष भण्डारीले गोरखापत्रलाई सबै जातजाति, भाषाभाषी र सबै वर्गले पढ्न सक्ने पत्रिका वनाउन अहिले नयाँ नेपाल शीर्षकमार्फत विभिन्न भाषामा प्रकाशन भैरहेको बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले गोरखापत्रलाई जनताको पत्रिका बनाउन आग्रह गर्दै समाजमा भैरहेका सकारात्मक कुरालाई पनि प्राथमिकता दिन आग्रह गर्नुभयो ।

उहाँले सरकारी भन्दैमा हरेक कुरामा समर्थन नै गर्नुपर्दछ भन्ने छैन भन्दै गोरखापत्रले समाजमा भएका घटनालाई यथार्थ रुपमा पस्किएर आलोचनात्मक टिप्पणी गरेमा सुधारको बाटोमा अघि बढ्न सबैलाई सहयोग पनि पुग्ने बताउनुभयो ।

प्रदेश ५ को प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतमले गोरखापत्रको समाचारमा सत्यथा हुन्छ भन्ने जसरी गोरखापत्रले आफ्नो साख जोगाएको छ त्यो आगामी दिनमा पनि कायम राख्न सकोस भन्नुभयो ।

उहाँले गोरखापत्र जहाँकहीँ पढ्न पाउने वातावरण बनाउन व्यवस्थापन पक्षसँग आग्रह गर्दै आम पाठकको रुचीका समाचारलाई समावेश बनाउन सक्यो भने यसको भविष्य राम्रो हुने प्रतिकृया दिनुभयो ।

प्रदेश ५ का महान्यायाधिवक्ता ठाकुर डिसीले गोरखापत्र विगतमा खोजेर पनि नपाईने गरेको बताउँदै अव यसको वितरण प्रणालीमा सुधार गरी जनताको समाचार छाप्ने पत्रिका बनाउन आग्रह गर्नुभयो ।

सोही अवसरमा गोरखापत्रका सम्पादक सल्लाहकार गोपाल खनालले गोरखापत्र सबैको पठनीय पत्रिका बनाउन आफूहरु लागिपरेको बताउँदै विगतको गोरखापत्र र अहिलेको गोरखापत्रको गुणस्तरमा पाठकले आमूल परिवर्तन आएको अनुभूति गरिरहेको बताउनुभयो ।

सो अवसरमा गोरखापत्र दैनिकका प्रधान सम्पादक श्रीओम श्रेष्ठले गोरखापत्रलाई अझै स्तरीय र पठनीय बनाउन कसरी सकिन्छ भन्ने विषयमा आम पाठकको धारणा बुझ्ने प्रयास गरिएको भन्दै प्रदेशका कुना कन्दराका समाचारले पनि राष्ट्रिय कभरेज पाउने वातावरण वन्दै गएको बताउनुभयो 

दी राइजिङ नेपालका प्रधान सम्पादक जगदिश पोखरेलले गोरखापत्रका प्रकाशनहरुलाई थप स्तरीय र सबैले पढ्ने पत्रिका वनाउन अभियान नै थालिएको धारणा राख्नुभयो ।

सो अवसरमा लुम्विनी भ्रमण वर्ष २०७६ का सह-संयोजक माधव नेपाल, मूख्यमन्त्रीका प्रेस सल्लाहकार शेरवहादुर केसी, लुम्विनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यवहादुर भट्टराई, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहरा, पूर्व प्रशासक हरिप्रसाद भण्डारी, मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल, वरिष्ठ पत्रकार डिआर घिमिरे, पत्रकार भरत केसी, पश्चिम नेपाल बस व्यवसायी संघका महासचिव जीवन बञ्जाडे, लेखक ऋषि आजाद, महिला अधिकारवादी नेतृ सावित्रा अर्याल, नेपाल प्रेस युनियन रुपन्देहीकी अध्यक्ष रेखा भुसाल, व्यवसायी प्रविण पाठक लगायतले बोल्दै गोरखापत्र गाउँघर, शहर बजार सबैतिर पाईने पत्रिका बनाउन आग्रह गर्नुभएको थियो ।

गोरखापत्र प्रदेश ५ का संयोजक दीपक ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा मानव अधिकारकर्मी पदम कार्की, रामचन्द्र श्रेष्ठ लगायतले पनि बोल्नुभएको थियो । गोरखापत्रले कोहलपुरबाट विहिवारदेखि आफ्नो कोहलपुर नमूना प्रकाशन आरम्भ गरेको छ भने फागुन ७ गते प्रजातन्त्र दिवसको दिनदेखि औपचारिक रुपमा प्रकाशन आरम्भ गर्ने घोषणा गरेको छ ।