गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २६ गते । गोरखापत्र अनलाइनको निमित्त सम्पादकमा नारदमुनि गौतमलाई नियुक्त गरिएको छ । गोरखापत्र संस्थान व्यवस्थापनले चैत २५ गते उहाँलाई निमित्त सम्पादकको जिम्मेवारी दिने निर्णय गरेको हो । उहाँले शनिबारबाट पदभार ग्रहण गर्नुभएको छ । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गौतमलाई जिम्मेवारी दिएसँगै गोरखापत्र अनलाइन प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले डिजिटल प्रकाशनलाई प्रभावकारी बनाउने जिम्मेवारी निमित्त सम्पादक गौतममा थपिएको बताउनुभयो । गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले राज्यको स्रोतको सदुपयोग गर्ने गरी अनलाइन प्रकाशनले काम गर्नुपर्ने बताउनुभयो । गोरखापत्र दैनिकका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराईले गोरखापत्र अनलाइनको प्रभावकारिता देखिने गरी गौतम नेतृत्वको टिमले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । संस्थानमा नेपाली पत्रकारिता समूहका नायब कार्यकारी सम्पादक गौतम यसअघि गोरखापत्र दैनिकका प्रमुख समाचारदाताको जिम्मेवारीमा हुनुहुन्थ्यो । गौतमले आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गर्नुभएको छ । २०५१ मा नेपाल प्रेस इन्स्टिच्युटबाट १० महिनाको पत्रकारिता तालिम लिएर पत्रकारिता क्षेत्रमा लाग्नुभएका गौतम संस्थान सेवामा २०५३ मा प्रवेश गर्नुभएको हो । गोरखापत्र दैनिकमा रहँदा गौतमले संसदीय मामिला, राजनीतिक, भ्रष्टाचार र सुशासन क्षेत्रमा कलम चलाउनु भएको छ ।यसैगरी अङ्ग्रेजी अनलाइन संस्करण दी राइजिङ नेपालको संयोजकको जिम्मेवारी नन्दलाल तिवारीलाई दिइएको छ । अनलाइन प्रकाशनका यसअघिका सम्पादक रामप्रसाद हुमागाईंलाई शनिबारबाट गोरखापत्र दैनिकमा सरुवा गरिएको छ ।