गोरखापत्र समाचारदाता

काठमाडौैँ, पुस ३ गते । गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्थाले गत आवमा दुई लाख ५४ हजार ६३५ रुपियाँ सञ्चालन मुनाफा गरेको  छ । सहकारीको शनिबार काठमाडौँमा सम्पन्न १५औँ साधारण सभामा यस्तो जनाकारी गराइएको हो ।
साधारण सभामा सहकारीका अध्यक्ष दीपक पौडेलले आर्थिक वर्ष २०७७/७८ को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनअनुसार सहकारीमा ३८२ सेयर सदस्य रहेको र ३३ लाख ९२ हजार ३०० रुपियाँ सेयर पुँजी सङ्कलन भएको छ ।
आर्थिक वर्ष २०७७/७८ असार मसान्तसम्ममा बचततर्फ एक करोड ६७ लाख ७५ हजार सङ्कलन र दुई करोड दुई लाख ऋण लगानी गरिएको प्रतिवेदनमा उल्लेख छ ।
यसैबीच गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले गोरखापत्रको विकास र उन्नयनका लागि एकजुट भएर लाग्न संस्थान कर्मचारीलाई आग्रह गर्नुभयो ।
कार्यकारी अध्यक्ष सुवेदीले गोरखापत्र सहकारीमार्फत संस्थान कर्मचारीलाई पारिवारिक वातावरण प्राप्त हुने र त्यसले रचनात्मक कार्य गर्न प्रोत्साहन मिल्नेसमेत बताउनुभयो । साधारण सभामा सहकारी सदस्यका परिवारमध्येबाट एसईईमा उत्कृष्ट अङ्क ल्याउने सात विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यकारी अध्यक्ष सुवेदीले सम्मानित विद्यार्थीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
सम्मानित हुनेहरूमा प्रथम तिमल्सिना, प्राची राजवंशी, अच्युता भट्टराई, अनुषा बाँस्कोटा, आयुषा रेग्मी, न्यासा तिमिल्सिना र प्रकृति शर्मा हुनुहुन्छ ।