गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ३ गते
गोरखापत्र संस्थानद्वारा आयोजित सामग्री उत्पादनसम्बन्धी दुईदिने प्रशिक्षण शुक्रबार सम्पन्न भएको छ । संस्थानका पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि आयोजित कार्यक्रममा संस्थानका प्रकाशनहरूको विविध पक्षबारे अन्तक्र्रियात्मक छलफल भएको थियो । कार्यक्रमको अन्तिम दिन आफ्नो प्रस्तुति दिनुहुँदै पत्रकारद्वय प्रकाश रिमाल र किरण नेपालले गोरखापत्र तथा दी राइजिङ नेपालसहित गोरखापत्र संस्थानका प्रकाशनहरू खोज पत्रकारितामा केन्द्रित हुनुपर्ने सुझाव दिनुभएको थियो ।
 कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार रिमालले अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यास र नवीनतम् प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली सञ्चारमाध्यम पनि क्रमश: प्रविधिले सुसज्जित हुँदै गएको बताउँदै विश्वव्यापी लहरलाई समयानुकूल ग्रहण गर्नुपर्नेमा जोड दिनुभयो ।
खोज पत्रकारिता केन्द्रका सम्पादक नेपालले भन्नुभयो, “गोरखापत्रले राजनीतिक
मुद्दा मात्रै होइन, अब अझै सशक्त रूपमा खोज पत्रकारितामा जोड दिनुपर्छ ।” उहाँले अन्तर्राष्ट्रिय रूपमा पनि सरकारी र राज्यबाट सञ्चालित सञ्चारमाध्यममा बुलन्द खोजी रिपोर्टहरू प्रकाशित हुने बताउनुभयो । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले संस्थानलाई नयाँ स्वरूपमा अघि बढाउन गम्भीर ढङ्गले प्रशिक्षण आयोजना गरिएको बताउनुभयो । उहाँले आर्थिक अनुशासन कायम गर्दै योजना र बजेट निर्माण गरी गोरखापत्रलाई नवीन उचाइ प्रदान गर्ने उद्घोष गर्नुभयो ।
महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रले वैधानिक समाचार प्रस्तुत गर्ने बताउँदै अब आलोचनात्मक रूपमा समाचार पस्किने बताउनुभयो । गोरखापत्रका प्रबन्ध सम्पादक जुनारबाबु बस्नेत र राइजिङ नेपालका प्रबन्ध सम्पादक नारायण उपाध्यायले प्रविधिमैत्री गोरखापत्र निर्माणको अठोट व्यक्त गर्नुभयो ।