गोविन्द शर्मा/सिराज खान

बाँके, मङ्सिर ४ गते । बाँकेको कोहलपुरबाट गोरखापत्रको नियमित प्रकाशनका लागि भौतिक निर्माण तथा अन्य प्राविधिक काम अन्तिम चरणमा पुगेको छ  । शनिबार कोहलपुर प्रकाशनको परीक्षण छपाइ सफलतापुर्वक सम्पन्न भएको छ ।  
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराई, प्रशासन विभागका निर्देशक ओम भुसालसहितको उपस्थितिमा परीक्षण प्रकाशन सफलतापूर्वक सम्पन्न भएको हो ।
परीक्षण प्रकाशनपश्चात् कार्यकारी अध्यक्ष सुवेदीले कोहलपुरमा छिटोभन्दा छिटो गोरखापत्रको प्रकाशन नियमित गरिने बताउनुभयो । व्यावहारिक र प्रक्रियागत काम सम्पन्न गरी आउँदो फागुन ७ गतेभित्रै प्रकाशन सुरु गरिने जानकारी दिनुभयो । “पश्चिम नेपालका तीनवटा प्रदेशका सबै जिल्लामा सहज र छिटो गोरखापत्र पाठकमाझ पुगोस् भन्ने चाहनाअनुरूप काम भएको उहाँले उल्लेख गर्नुभयोध्र अध्यक्ष सुवेदीले भन्नुभयो, “त्यसका लागि आइपर्ने अल्झन र सम‚या समाधानका लागि पहल गर्नेछौँ ।”
ढिलोमा फागुन ७ गतेसम्म प्रकाशन सुरु गर्ने लक्ष्य राखे पनि त्योभन्दा पहिले नै नियमित प्रकाशन गर्ने व्यवस्था मिलाउन सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको टोली निर्माण‚ थलमा पुगेको सुवेदीले जानकारी दिनुभयो ।
गोरखापत्रका निमित्त प्रधानसम्पादक शिवकुमार भट्टराईले देशको सम्पूर्ण भू–भागमा गोरखापत्र पाठकको हातहातमा पुगोस् भन्ने चाहनाले कोहलपुरमा आफ्नै प्रेस जडान गरिएको बताउनुभयो । भट्टराईले भन्नुभयो, “अब पश्चिम नेपालमा पत्रिका प्रकाशन भएसँगै समाचारले पनि प्राथमिकता पाउँछ । गोरखापत्र क्रमश: सबै प्रदेशमा सहज तरिकाले नै पुग्नेछ ।”
शनिबार गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष नेतृत्वको टोली र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको टोलीले सम्बन्धित प्राविधिक, निर्माण व्यवसायीसँग हालसम्म भएको कामको विषयमा जानकारी लिनुभयो । प्रेस भवन तथा गोदाम भवनको निर्माण कार्य पुरा हुन अझै बाँकी छ । टोलीमा मन्त्रालयका उपसचिव मुकुन्द शर्मा, श्रीधर ज्ञवालीलगायतको सहभागिता छ ।
कोहलपुर प्रकाशनका लागि गोरखापत्र संस्थानले कोहलपुर–३, मैटहवामा एक बिघा जग्गा खरिद गरी निर्माण कार्य सुरु गरेको हो ।
यसैगरी बाँकेको कोहलपुरबाट नियमित प्रकाशनको तयारीमा जुटेको संस्थानले प्राविधिक तालिम सञ्चालन गरेको छ । गोरखापत्र पश्चिम क्षेत्र प्रकाशन कार्यालय कोहलपुरले सञ्चालन गरेको पाँच दिने वेब अफसेट तथा प्रिन्टिङ आधारभूत तालिममा आठ जनाको सहभागिता छ ।