सिराजुद्दिन खान
नेपालगञ्ज, पुस १० गते । प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लाईलक्षित गरेर बाँकेको कोहलपुरबाट गोरखापत्र दैनिक प्रकाशन गर्ने उद्देश्यका साथ कोहलपुरमा भौतिक पूर्वाधार निर्माणको कार्य शुरु गरिएको छ ।तीन चरणमा निर्माण पूरा गरिने भौतिक पूर्वाधार अन्तर्गत पहिलो चरणमा जग्गाको चारैतिर पर्खाल बनाउने कार्यको शुरुवात बिहीबारबाट गरिएको छ ।

कोहलपुर–३ मैटहवामा गोरखापत्र प्रकाशन गृहको पर्खाल बनाउने ठेक्का पाएको टेक्निकल ईन्जिनियरिङ्ग डिजाइन कन्सलटेन्सी एण्ड कन्स्ट्रक्सन प्रालिलाई बिहीबार साइट हस्तान्तरण गरिएको छ ।गोरखापत्र संस्थानका प्रोजेक्ट म्यानेजर रमिता प्रसार्इंले कोहलपुर वडा नम्बर ३ का वडा अध्यक्ष माधव रिजालको रोहबरमा टेक्निकल ईन्जिनियरिङ्ग डिजाइन कन्सलटेन्सी एण्ड कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि महेशबहादुर शाहीलाई साइट हस्तान्तरण गर्नुभयो ।

टेक्निकल ईन्जिनियरिङ्ग डिजाइन कन्सलटेन्सी एण्ड कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि शाहीले चारमहिनामा पर्खाल निर्माण गरेर हस्तान्तरण गर्ने सम्झौता भएको जनाउँदै बिहीबारबाटै निर्माण कार्य अघि बढाईएको बताउनुभयो ।
तीन चरणमा निर्माण गरिने सो प्रकाशन गृहको निर्माण अन्तर्गत पहिलो चरणमा पर्खाल निर्माण, दोस्रो चरणमा प्रेस भवन र स्टोर तथा तेस्रो चरणमा कार्यालय र कर्मचारी आवास निर्माण गरिने गोरखापत्र संस्थानका कानूनी सल्लाहकार कुमारप्रसाद भट्टराईले बताउनुभयो ।

उहाँले गोरखापत्र संस्थानको वर्तमान व्यवस्थापनले संस्थानका प्रकाशनलाई देशका सबैभागमा समयमै पु¥याउने उद्देश्यले भौतिक पूर्वाधार निर्माण कार्यलाई प्राथमिकता दिएर छिटो छरितो र गुणस्तरीय रुपमा पूरा गर्न खटिएको बताउनु भयो । सो अवसरमा कोहलपुर नगरपालिका– ३ का वडा अध्यक्ष माधव रिजालले संस्थानको प्रकाशन यहाँबाट शुरु हुनु गौरवको विषय भएको जनाउँदै प्रकाशन गृह निर्माणका लागि हर प्रकारको सहयोग गर्ने बताउनुभयो ।

उहाँले कोहलपुरबाट प्रकाशन शुरुभएपछि समग्र पश्चिम नेपालमा समयमा संस्थानका प्रकाशनहरु पु¥याउन सहज हुने बताउनुभयो । यसैबीच, गोरखापत्र संस्थानका कानूनी सल्लाहकार भट्टराईको नेतृत्वमा कोहलपुर आइपुग्नुभएको टोलीले कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत र कार्यकारी प्रशासकीय प्रमुख वीरेन्द्रदेव भारतीसँग भेट गरेर सो बारेमा छलफल गरेको छ ।
सो अवसरमा कोहलपुर नगरपालिकाका रावतले कोहलपुरबाट गोरखापत्र प्रकाशन गर्न सफल भएपछि कर्णालीको हुम्ला र मुगु तथा सुदुरपश्चिमको बाजुरा बैतडीसम्म सहज रुपमा पत्रिका पु¥याउन सहज हुने बताउनुभयो ।

कोहलपुरबाट पत्रिका प्रकाशन गर्नका लागि छापाखाना स्थापना गर्ने उद्देश्यले कोहलपुर नगरपालिकाको वडा नम्बर ३ मैटहवामा गत २०७४ सालको साउन ३ गते संस्थानले एक विघा जग्गा किनेको थियो । यसैवर्षबाट गोरखापत्रले पूर्वको विराटनगरमा पनि प्रकाशन गृह तथा कार्यालयको निर्माण पूरा गरेर पत्रिका प्रकाशनको कार्य शुरु गरिसकेको छ ।