गोरखापत्र समाचारदाता

काठमाडौंँ, भदौ २३ गते गोरखापत्र संस्थानद्वारा प्राध्यापक परशुराम तामाङको संयोजकत्वमा गठित ‘गोरखापत्र नयाँ नेपाल बहुभाषा पृष्ठ सुझाव कार्यदल’ले सोमबार आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ ।
संयोजक तामाङले सो प्रतिवेदन संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीलाई हस्तान्तरण गर्नुभयो । गोरखापत्र प्रादेशिक प्रकाशनमा जाँदा नयाँ नेपाल पृष्ठमा प्रकाशन हुँदै आएका राष्ट्र भाषालाई कसरी प्रकाशन गर्ने भनेर सुझाव दिन सो कार्यदल गठन गरिएको थियो ।
कार्यदलले बुझाएको प्रतिवेदन अध्ययन गरी आवश्यकताअनुसार त्यसलाई कार्यान्वयनमा लगिने विश्वास व्यक्त गर्दै कार्यकारी अध्यक्ष भण्डारीले आफ्नो जिम्मेवारी पूरा गरेकोमा कार्यदलका सबैलाई धन्यवाद दिनुभयो । संस्थान व्यवस्थापनले प्रा. तामाङ संयोजक, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. डम्बर चेम्जोङ, डा. तारामणि राई सदस्य र नयाँ नेपाल पृष्ठका संयोजक विवेकानन्द मिश्र सदस्यसचिव रहने गरी कार्यदल गठन गरेको थियो ।