गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २३ गते
गोरखापत्र दैनिकको १२२औँ वार्षिकोत्सव एवं गोरखापत्र संस्थानको ६०औँ वार्षिकोत्सवका अवसरमा संस्थानमा कार्यरत कर्मचारी एवं पत्रकारहरूलाई विभिन्न पुरस्कार प्रदान गरिने भएको छ ।
संस्थानले प्रदान गर्दै आएको उत्कृष्ट कर्मचारी पुरस्कार सूचना प्रविधि विभागअन्तर्गत कम्प्युटर/सीटीपी शाखामा कार्यरत नरेन्द्रबहादुर श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
त्यस्तै काठमाडौँ उपत्यकालगायत विभिन्न प्रदेशअन्तर्गत रहेर उत्कृष्ट काम गर्दै आएका समाचारदाताहरूलाई पनि पुरस्कार प्रदान गर्ने निर्णय संस्थानले गरेको छ । संस्थानले खोजी समाचारमा उत्कृष्ट कार्य गरेबापत देवबहादुर कुँवरलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको छ । उहाँले नारायणहिटी दरबार परिसरमा सम्झौताविपरीत रेस्टुरेन्ट सञ्चालनको खोजी समाचार प्रकाशित गर्नुभएको थियो ।
पुरस्कृत हुने अन्य उत्कृष्ट पत्रकारमा प्रदेश १ बाट मोरङ उर्लाबारीका हरिप्रसाद कोइराला, मधेस प्रदेशबाट सप्तरी कल्याणपुरका मालाकुमारी कर्ण र बागमती प्रदेशबाट चितवन नारायणगढका वसन्त पराजुली हुनुहुन्छ ।  
त्यस्तै गण्डकी प्रदेशबाट गोरखाका नरेन्द्र ढकाल, लुम्बिनी प्रदेशबाट रुपन्देही बुटवलका छविलाल पाण्डे र कर्णाली प्रदेशबाट सल्यानका प्रतीक इच्छुक शर्मा पुरस्कृत हुनुभएको छ । सुदूरपश्चिम प्रदेशबाट बाजुराका शेरबहादुर सार्कीलाई पुरस्कृत गरिने भएको छ । काठमाडौँ उपत्यकाबाट नेपालीतर्फ उपेश महर्जन र अङ्ग्रेजीतर्फ रेणुका ढकाललाई पुरस्कृत गरिएको छ ।
यसैबीच नेपाल पत्रकार महासङ्घ गोरखापत्र प्रतिष्ठानद्वारा स्थापित ‘रामचन्द्र–इन्दु पत्रकारिता पुरस्कार–२०७९’ गोरखापत्र दैनिकका पूर्व–प्रधानसम्पादक निर्मलकुमार आचार्यलाई प्रदान गरिने भएको छ । यस पुरस्कारको राशि पचास हजार रुपियाँ रहेको छ ।
त्यस्तै गोरखापत्र पत्रकारिता पुरस्कार–२०७९ केपी गौतम र हरिप्रसाद भट्टराईलाई प्रदान गर्ने निर्णय महासङ्घले गरेको छ ।
त्यस्तै सुमन बोम्जन स्मृति पत्रकारिता पुरस्कार–२०७९ इश्वरचन्द्र झालाई प्रदान गरिने भएको छ । ती पुरस्कारको राशि जनही १० हजार रुपियाँ रहेको छ ।
कोभिड–१९ का कारण गत वर्षहरूमा प्रदान गर्न नसकिएका पुरस्कार पनि यसै वर्ष प्रदान गरिने प्रतिष्ठान शाखाले जनाएको छ ।
गोरखापत्र संस्थानमा क्रियाशील नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले हरेक वर्ष प्रदान गर्दै आएको जागरुक जनसेवक सम्मान संस्थाको वितरण विभागमा निमित्त निर्देशक पदमा कार्यरत सोमबहादुर घले, उत्पादन विभागका वरिष्ठ प्रेस अधिकृत हरिकण्ठलाल श्रेष्ठ र ग्राहक सेवा शाखामा कार्यालय सहयोगी पदमा कार्यरत दुखी मण्डललाई प्रदान गर्ने निर्णय गरिएको सङ्गठनले जनाएको छ ।
ती सबै पुरस्कार गोरखापत्र संस्थानले वैशाख २४ गते काठमाडौँमा आयोजना गर्ने विशेष कार्यक्रममा प्रदान गरिनेछ ।