काठमाडौं, चैत १३ गते । नेपाल विज्ञापन संघ (आन) का पदाधिकारीहरूले नेपाली पत्रकारिता र विज्ञापनको अन्योन्याश्रित सम्बन्ध रहेको गोरखापत्रसँग सहकार्य गरेर जान तयार रहेको बताउनुभएको छ । 

धर्मपथस्थित गोरखापत्र संस्थानमा मङ्गलबार आयोजित ‘आनका पदाधिकारीलाई बधाइ ज्ञापन तथा स्वागत कार्यक्रम’ मा आफ्नो धारणा राख्नु हुँदै उहाँहरूले देशमा धेरै मिडिया सञ्चालनमा रहे पनि राष्ट्रिय सम्पदाको रूपमा रहेको ‘गोरखापत्र हाम्रो पनि हो’ भन्नुभयो । 
नवनिर्वाचित पदाधिकारीलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिनुहुँदै संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायले गोरखापत्रलाई आफ्नो हृदयमा राखेर सहकार्य गर्न आग्रह गर्नुभयो । 
महाप्रबन्धक उपाध्यायले विगतमा केही तीता–मीठा घटना भएका हुन सक्छन् तर अब संस्थानले विज्ञापन एजेन्सीहरूसँग नयाँ शिराबाट सहकार्य गर्न चाहेको बताउनुभयो । 
महाप्रबन्धक उपाध्यायले २०७५ वैशाख २४ गते गोरखापत्र प्रकाशनको ११८ औं वर्ष प्रवेश तथा तेस्रो पत्रकारिता दिवस भव्यरूपमा मनाउन संस्थानले आन्तरिक तयारीलाई तीव्र बनाएको बताउनुभयो । कार्यक्रममा आनका पदाधिकारीलाई खादा ओढाएर सम्मान गरिएको थियो । 
गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक निर्मलकुमार आचार्यले नेपालमा पत्रकारिता र विज्ञापनको इतिहास उत्तिकै पुरानो रहेको र हाल विज्ञापनको क्षेत्र विस्तार भएकाले गोरखापत्रलाई अगाडि बढाउन आनको सहयोग र सल्लाह अपेक्षित छ भन्नुभयो । 

उहाँले नेपालको संविधान अनुसार देश नयाँ संघीय संरचनामा गएको छ, गोरखापत्रका पाठक विस्तार गर्न गोरखापत्र अनलाइन सेवालाई थप प्रभावकारी बनाउने पहल भइरहेको र ‘अर्थ बजार पृष्ठ’ सुरु भइसकेको जानकारी दिनुभयो । 
नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजाल ‘शशी’ ले गोरखापत्रसँग सहकार्य गर्न आन तयार रहेको जानकारी दिनु हुँदै गोरखापत्र संस्थानले कुनै पनि निकायबाट सिधै विज्ञापन लिँदा संस्थानलाई घाटा हुने धारणा राख्नुभयो । 
अध्यक्ष रिजालले आनमा दर्ता भएका विज्ञापन एजेन्सीलाई गोरखापत्रले मान्यता दिँदा राम्रो हुने सुझाव दिनु हुँदै कृति अवार्डजस्ता आनले सञ्चालन गर्ने रचनात्मक कार्यक्रमलाई स्थान दिन आग्रह गर्नुभयो । उहाँले गोरखापत्र संस्थानबाट प्रकाशन हुने पत्रिकाहरूको कागज र मसीको गुणस्तरमा सुधार गर्नुपर्ने खाँचो पनि औंल्याउनुभयो ।
संस्थानका व्यापार विभाग निर्देशक यमप्रसाद कँडेलले गोरखापत्र अब प्रादेशिक प्रकाशनका लागि अग्रसर भइरहेको जानकारी दिनु हुँदै त्यसका लागि आनको सहयोग र समर्थन आवश्यक रहेको बताउनुभयो । 
व्यापार प्रबद्र्धन शाखाका प्रमुख ओम भुसालले कार्यक्रमका बारेमा जानकारी दिनु हुँदै छपाइमा सुधार आएकाले व्यावसायिक विज्ञापनहरू गोरखापत्रमा उपलब्ध गराउन आनका पदाधिकारीसँग आग्रह गर्नुभयो । 
कार्यक्रममा आनका अध्यक्ष रवीन्द्रकुमार रिजाल ‘शशी’, वरिष्ठ उपाध्यक्ष सोमप्रसाद धिताल, प्रथम उपाध्यक्ष नारायणकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठ, महासचिव राजु कुइकेल, कोषाध्यक्ष पीताम्बर पोख्रेल ‘विजय’, सदस्य सन्तोष खड्का र कार्यकारी निर्देशक अर्जुनमोहन भट्टराई सहभागी हुनुहुन्थ्यो । 
यसैगरी, कार्यक्रममा संस्थानका सञ्चालक समितिका सदस्य मुकुन्द चिमौरिया, दि राईजिङ नेपालका निमित्त प्रधान सम्पादक विजयलाल श्रेष्ठ तथा विभागीय प्रमुखहरूसहित अन्य कर्मचारीहरु सहभागी हुनुहुन्थ्यो ।