प्रकृति अधिकारी
काठमाडौँ, वैशाख २३ गते  
नेपालको पहिलो जीवित अखबार गोरखापत्र शनिबारदेखि १२२औँ वर्ष प्रवेश गर्दैछ । विसं १९५८ वैशाख २४ गते प्रकाशन सुरु भएको गोरखापत्र नेपालको मात्र नभएर दक्षिण एसियाकै पुराना अखबारमध्येमा पर्छ ।
गोरखापत्रका समकालीन पत्रिका कमै मात्र प्रकाशित हुँदै आएका छन् । तिनीहरूमा भारतबाट प्रकाशित हुँदै आएका टाइम्स अफ इन्डिया, स्टेटम्यान, अमृत बजार, द हिन्दु, हिन्दुस्थान टाइम्सलगायत छन् । गोरखापत्रको यो ऐतिहासिक पक्ष मात्र होइन यातायात र सञ्चारका साधन र प्रविधिको व्यापकता नरहेको अवस्थामा अन्तर्राष्ट्रिय स्तरमा यसको पहुँच विस्तार भएको छ । त्यस्ता प्रमाण गोखापत्रमा नै फेला पर्छन् । विश्व भ्रमणमा निस्किनुभएका तत्कालीन राजा महेन्द्रले अमेरिकामा गोरखापत्र हेर्ने अवसर पाउनुभएको थियो । त्यो बेला गोरखापत्र अमेरिकाका कुन कुन ठाउँमा पुग्थ्यो भन्न नसकिए पनि उहाँले गोरखापत्र हेरिरहेको तस्बिर छापिएको थियो ।
२०१६ साल चैत २८ गते नेपालबाट भ्रमण थाल्नुभएका तत्कालीन राजा महेन्द्र र रानी रत्न सुरुमा जापान पुग्नुभयो । उहाँहरू क्रमैसँग अमेरिका, क्यानाडा, मेक्सिको, जर्मनी, स्विजरल्यान्ड, अस्ट्रिया, इरान, भारतको नयाँदिल्ली हुँदै दार्जिलिङ पुगेर १०९ दिनपछि स्वदेश फिर्नुभयो । उहाँहरूको स्वदेश भ्रमण फिर्तीपछि गोरखापत्रले २०१७ साल साउन १४ गते भ्रमणका केही विवरण तस्बिरसहित छापेको थियो । तत्कालीन बडामहारानी रत्नले गोरखापत्र अध्ययन गरिरहेको र पछाडि उभिएर राजा महेन्द्रले गोरखापत्र हेरिरहेको तस्बिरको क्याप्सन छापिएको थियो, “श्री ५ महाराजाधिराज तथा श्री ५ बडामहारानीबाट अमेरिकामा सङ्ग्रह गरिएको गोरखापत्र नजर गरिबक्सँदाको चित्र ।”
वरिष्ठ पत्रकार भैरव रिसालले त्यो बेला हुलाकबाट गोरखापत्र विदेशमा पठाउने गरिन्थ्यो भन्दै थप्नुभयो, “सम्भवत: अमेरिकास्थित नेपाली दूतावासमा गोरखापत्र पुग्थ्यो होला ।” २०१३ सालसम्म पनि गोरखापत्रमा कार्यरत पत्रकार वा कर्मचारीलाई कहिलेदेखि गोरखापत्र छापिन थालेको भन्ने अत्तोपत्तो पनि थिएन । ललितपुरको मदन पुस्तकालयले गोरखापत्रको पहिलो अङ्कको तस्बिर २०१३ सालमा उपलब्ध गराएको थियो । २०१३ साल पुस २६ गते गोरखापत्रले सम्पादकीय टिप्पणी छापेको थियो, “यस्ता गोरखापत्रका पुराना अङ्कहरू सायद अन्यत्र अरू कुनै सज्जनकहाँबाट पनि पाउन सके यो पहिलो पत्रको सिङ्गै तस्बिर पनि हामी छपाउन सक्ने थियौँ ।
खेदको कुरो थियो हामीसँग गोरखापत्रका सर्वप्रथम निस्केको अङ्क थिएन । त्यो मात्र होइन गोरखापत्र कुन मितिदेखि निक्लन थालेको हो, त्यसको पनि ठीक ठीक ज्ञान हामीलाई थिएन । हामीलाई यति थाहा थियो कि गोरखापत्र सर्वप्रथम महाराज देवशमशेरका पालामा निस्केको हो । तर देवशमशेरका पालाको एउटासम्म पनि अङ्क हामीले देख्न पाएका थिएनौँ ।”
केही वर्षअघि गोरखापत्रले एक जनासँग पहिलो अङ्क खरिद गरेको थियो । त्यसलाई सुरक्षित राख्न राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिएको छ ।
गोरखापत्रले प्रकाशनको ५६ वर्षपछि अर्थात् २०१४ साल जेठ १६ गतेबाट पुरानो सम्झना स्तम्भमार्फत विगतमा छापिएका प्रसङ्गलाई छाप्न थालेको हो । त्यो स्तम्भ ‘५० वर्षअघिको गोरखापत्रबाट’ हुँदै हाल ‘एक सय वर्षअघिको गोरखापत्र’ बनेको छ । पुछारमा मदन पुरस्कार गुठी पुस्तकालयको सौजन्यबाट भनेर उल्लेख गरिएको पाइन्छ । लामो समयसम्म गोरखापत्र छापाखाना नै रह्यो । २०२० साल असोज ३० गते ‘श्री ५ को सरकारको निर्णयअनुसार गोरखापत्र छापाखानाको नाममा परिवर्तन गरिएको छ । गोरखापत्र कर्पाेरेसनमा परिणत गरिएकाले आजदेखि गोरखापत्र छापाखानाको सट्टा श्री ५ को सरकारको छापाखाना भनिने छ’ भनी समाचार छापेको थियो ।
वरिष्ठ पत्रकार रिसालले त्यो बेला सरकारलाई बम्बै, कलकत्ताको बजार भाउ थाहा पाउन पनि गोरखापत्र चाहिएको थियो र राणा शासकहरूले गोरखापत्रमार्फत सूचना टाँस गर्ने गरेको बताउँदै भन्नुभयो, “गोरखापत्र राणाकालसम्म सूचनापत्र थियो । २००७ सालपछि मात्र अखबार बनेको हो ।”