गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १५ गते । गोरखापत्र संस्थानले आफ्ना कर्मचारीका लागि खरिद प्रक्रिया सम्बन्धि पाँचदिने तालिम प्रदान गरेको छ । तालिमको समापन गर्दै आइतबार संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले गोरखापत्रको हरेक काम कारवाहीलाई एउटा प्रणालीमा आवद्ध गराउन यो तालिम सहायक रहेको बताउनुभयो । कर्मचारीले खरिद प्रक्रियाका बारेमा सिकेका विभिन्न चरणको उपयोग गर्दै फाइदा लिनुपर्नेमा जोड दिनुभयो ।

संस्थानको खरिद प्रक्रियाका गतिविधिमार्फत कामकारवाहीलाई चुस्त र पारदर्शी बनाउन मद्दत गर्ने संस्थानका विज्ञ सल्लाहकार टीकाराम राईले बताउनुभयो । प्रक्रियामा सुधार हुँदै जाँदा आज गोरखापत्रका प्रकाशनमा प्रयोग हुने सामग्रीको गुणस्तरमा सुधार हुँदै गएकाले कर्मचारीलाई थप चुस्त बनाउन तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।

मुख्य प्रशिक्षक एवं खरिद विज्ञ शंकरकृष्ण श्रेष्ठले खरिद प्रक्रिया व्यवस्थित गर्न तालिमले सघाउने उल्लेख गर्नुभयो । खरिद प्रक्रियाको सही अवलम्वन गर्दै संस्थानको आवश्यकता र परिणामसँग जोडेर व्यवस्थित प्रणाली बनाउन कर्मचारीलाई जिम्मेवार बनाउने उहाँको भनाइ थियो । तालिमबाट अब निर्धक्क भएर काम गर्ने सहजता बढेको संस्थानस्थित व्यापार विभागका निमित्त निर्देशक ओमप्रकाश भुसालले अनुभव सुनाउनुभयो ।

संस्थानका कानूनी सल्लाहकार कुमारप्रसाद भट्टराईले सिकाइको फल संस्थामा रहँदामात्र हैन बाहिर रहेर काम गर्नुपर्दा पनि काम लाग्ने टिप्पणी गर्नुभएको थियो । तालिम संयोजक ताराबहादुर बस्यालका अनुसार मङरसिर ११ देखि १५ गतेसम्म चलेको तालिममा संस्थानका विभिन्न ओहोदाका ४२ जना कर्मचारीको सहभागी थिए ।