गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस १९ गते ।

गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था हालसम्म दुई करोड १५ लाख रुपियाँ बचत भएको छ  । सहकारीको शनिबार काठमाडौँमा सम्पन्न १३औँ वार्षिक साधारण सभा यस्तो जानकारी दिएको हाे ।
सहकारीले आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्म कुल सेयर पुँजी ३५ लाख ९२ हजार, बचत रकम एक करोड ६३ लाख ३० हजार २१, भुक्तानी दिनुपर्ने ७९ हजार ६७८, कोषमा १५ लाख ५१ हजार ९२४ रुपियाँ रहेको सो अवसरमा जानकारी दिइएको छ , चालू आवमा सहकारीले दुई लाख ९१ हजार ९८० रुपियाँ सञ्चालन मुनाफा आर्जन गरेको सहकारीले जनाएको छ ।
सो अवसरमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले सहकारीको शक्ति सहकार्यमा रहेको बताउनुभयाे ।  उहाँले बचत र ऋण प्रवाह मात्रैले सहकारीको उद्देश्य पूरा नहुने भन्दै प्रत्येक सदस्यमा आत्मविश्वास र काम गरौँ भन्ने भावनाको विकास गर्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभयाे ।
कार्यक्रममा कार्यकारी अध्यक्ष भण्डारीले सहकारीका सदस्यमध्ये २०७५ सालको प्रवेशिका (एसईई) परीक्षामा उत्कृष्ट अङ्क ल्याउने सहकारी सदस्यका सन्ततीलाई सम्मानका साथै पुरस्कार प्रदान गर्नुभयाे ।
यसरी सम्मानित हुनेहरूमा सहकारीका सदस्य रामप्रसाद हुमागाईंकी छोरी ‚वेच्छा हुमागाईं, तुलसीहरि कोइरालाकी छोरी रक्षा कोइराला, नन्दलाल तिवारीकी छोरी चेतना तिवारीलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभयाे । त्यस्तै सहकारी सदस्य बलराम यादवका छोरा सुरज यादव, बोमबहादुर खड्काकी छोरी रुक्सा खड्का, शिवहरि अर्यालका छोरी प्रतिशा अर्याल, कविता थापाका छोरा प्रतीकराज कार्की पनि सम्मानित र पुरस्कृत हुनुभयो ।   
सहकारीको अध्यक्ष दीपक पौडेलले सहकारीमा आबद्ध हुन बाँकी पत्रकार तथा कर्मचारीलाई सहकारीमा आबद्ध हुन आग्रह गर्नुभयाे । सहकारीले सस्थामा आबद्ध सदस्यलाई दुई लाख रुपियाँसम्म बिनाधितो ऋण उपलब्ध गराउँदै आएको छ ।