सन्तोष सुवेदी
कास्की, चैत २८ गते । गोरखापत्र संस्थानको सहप्रकाशन ‘मुना’ मासिकको ३२औँ वार्षिकोत्सव सोमबार पोखरामा मनाइएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग बालबालिका संवाद कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।
बालबालिकाले गुणस्तरीय शिक्षा, स्वास्थ्य र प्राकृतिक चिन्तन फेवाताललगायतका विषयमा प्रदेश सरकारको भूमिका बारे मुख्यमन्त्रीसँग प्रश्न गरेका थिए । मुख्यमन्त्री पोखरेलले गण्डकी सम्भावनायुक्त प्रदेश भएकाले पर्यटन, कृषि, उद्योगको क्षेत्रमा नियम कानुन तर्जुमा हुँदै आएको बताउनुभयो । उहाँले बालबालिकाको उचित शिक्षा, स्वास्थ्य, पोषणलगायतमा आगामी बजेटमा समावेश गरी बालबालिकामैत्री कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले आफू सरकारमा आएपछि प्रदेशवासीका लागि नि:शुल्क रगतको व्यवस्था मिलाएको जानकारी दिनुभयो । ज्येष्ठ  नागरिकका लागि दिवा सेवा र सरकारी अस्पतालबाट पनि नि:शुल्क स्वास्थ्य सेवा लिने व्यवस्था मिलाएको उहाँले सुनाउनुभयो । यो प्रदेशमा कोही अभिभावकविहीन भएर बस्नु पर्दैन । मानव सेवा आश्रममा बालबालिकालाई उचित व्यवस्था हुँदै आएको छ, उहाँले भन्नुभयो । विकास निर्माणको सन्दर्भमा पहिलाको सरकारले गरेका कामलाई निरन्तरता दिँदै आएको उहाँले उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले बालबालिकालाई उचित शिक्षा दिन सकिएसम्म समाज परिवर्तन गर्न नसकिने बताउनुभयो । उहाँले शिक्षामार्फत हरेक समस्या समाधान गर्न सकिने हुँदा शिक्षालाई उत्पादनसँग जोडेर आत्मनिर्भर हुन बालबालिकालाई प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।
मुना पत्रिकाबाट बालबालिकाले उपयोगी ज्ञान हासिल गर्न सकेका छन् । “यसलाई गाउँगाउँका विद्यालयमा पुर्‍याएर लुकेको प्रतिभालाई बाहिर ल्याउने काम गर्न आग्रह गर्दछु,” उहाँले भन्नुभयो ।
गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदीले पोखराका प्रतिभाशाली मुनाहरूसँग वार्षिकोत्सव मनाउन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “अबको सन्तति निकै ट्यालेन्ट छन् । सामाजिक रूपान्तरण र समृद्धिका विषयमा चासो दिन थाल्नु भनेको बच्चामा हुनुपर्ने अद्भूत गुण हो । तिनै मुनाहरूको प्रतिभा समेट्दै थप परिमार्जित गर्दै डिजिटलमार्फत पनि ल्याउने तयारीमा छौँ ।”
उहाँले गोरखापत्र पत्रिका मात्र नभएर सिङ्गो युगको प्रतिनिधित्व गर्ने माध्यम भएको बताउनुभयो । विभिन्न आरोह, अवरोध खप्दै यहाँसम्म आइपुग्नु ठूलो चुनौती रहेको उहाँले जनाउनुभयो ।
गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले बालबालिकाको क्षमता वृद्धि गर्न निरन्तर मुना प्रकाशन हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुना पत्रिकाको गतिविधि काठमाडौँमा मात्र नभएर मोफसलमा पनि साझेदारी हुनुपर्छ भन्ने मान्यताले प्रदेश सरकार र पोखरासँग जोडिन आएका हौँ ।” उहाँले पत्रिकाको डिजाइन, सामग्री, नयाँ परिवेशमा छिट्टै ल्याउने बताउनुभयो ।
नेपाली लेखक सङ्घका अध्यक्ष एवं साहित्यकार तीर्थ श्रेष्ठले मुनाहरू भोलिका दिनमा मुलुक धान्न सक्ने बनाउन अभिभावक र शिक्षकको भूमिका महìवपूर्ण रहने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले मुना पत्रिका सबैको लोकप्रिय बनेकाले अझै परिष्कृत गर्दै पछिल्लो पुस्तालाई पनि समावेश गर्ने खालका सामग्री समावेश गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा पहिलो सत्र मुना संवादमा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईले बालबालिकाबाट माग भएको खण्डमा अन्य भाषामा पनि मुना पत्रिका निकालिने बताउनुभयो । उहाँले पोखरामा अध्यनरत विद्यार्थीलाई मुनामा आफ्ना रचना पठाउन आग्रह गर्नुभयो ।
मुना पत्रिकाका सम्पादक हरिप्रसाद भट्टराईले बालबालिकाको प्रतिभा प्रस्फुटन होस् भन्ने उद्देश्यले मुना प्रकाशनमा ल्याएको बताउनुभयो । उहाँले अब दुर्गम ठाउँमा पनि मुना पुर्‍याउने प्रयास भइरहेको जानकारी दिनुभयो । मुनाको ३२औँ वार्षिकोत्सवको अवसरमा ‘मुना दूत’ घोषणा गरिएको थियो । पोखराको गण्डकी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत प्रेन्सा रेग्मीलाई गण्डकी प्रदेशका लागि मुना दूत घोषणा गरी सम्मान गरिएको थियो ।