विश्वास रेग्मी/केदार तिमल्सिना
धुलिखेल, चैत १ गते । मुलुककै जेठो अखबार गोरखापत्रको अहिलेसम्मका सबै प्रकाशनको डिजिटल अभिलेख तयार गरिने भएको छ । यसका लागि गोरखापत्रले विज्ञहरूसँग छलफल सुरुवात गरेको छ । मङ्गलबार धुलिखेलमा एक कार्यशालाको आयोजना गर्दै डिजिटल अभिलेख तयार गर्ने प्रक्रियामा सरोकारवालाको सुझाव लिएको छ ।
कार्यशालाको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘डिजिटल अर्काइभ’ गोरखापत्र मात्रका लागि नभई राष्ट्रकै लागि महत्वपूर्ण काम हुने बताउनुभयो । १२१ वर्षको इतिहास रहेको गोरखापत्रलाई मुलुककै सम्पदाका रूपमा संवद्र्धन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
मन्त्री कार्कीले भन्नुभयो, “गोरखापत्रका सहप्रकाशन र यसअघि प्रकाशन भएर बन्द भइसकेका प्रकाशनको पनि डिजिटल अभिलेख आवश्यक छ, त्यस्तो अभिलेखलाई सर्वसाधारणको पहुँचमा  पुर्‍याउनुपर्छ ।” कागज दीर्घकालीन समयसम्म राख्न समस्या हुने भएकाले यसको व्यवस्थित सुरक्षाका लागि डिजिटल बनाउन जरुरी रहेको मन्त्री कार्कीको भनाइ छ । यसले नयाँ पुस्तालाई गोरखापत्रको पहुँचमा पुर्‍याउन पनि सहयोग पुग्ने उहाँले बताउनुभयो ।
मन्त्री कार्कीले गोरखापत्रको डिजिटल अभिलेखीकरणले नेपालीलाई मात्र नभएर नेपालको इतिहास र भाषा संस्कृतिबारे
अभिरुचि राख्ने विदेशीलाई पनि सहयोग पुग्छ भन्नुुभयो । कार्यशाला नियमित किसिमको कार्यक्रमभन्दा पनि वर्तमान चुनौतीलाई अवसरमा रूपान्तरण गर्नेतर्फ सफल हुने उहाँले विश्वास  व्यक्त गर्नुभयो ।
कार्यक्रममा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले डिजिटल अर्काइभको काम गोरखापत्रको जीवनकै लागि सबैभन्दा महìवपूर्ण हुने बताउनुभयो । उहाँले संस्थानका प्रकाशनलाई अहिलेको डिजिटल मागअनुसार गुणस्तरीय बनाउनुपर्ने र अहिलेसम्मका प्रकाशनलाई सुरक्षित रूपमा सङ्ग्रह गर्नुपर्ने चुनौती भएकाले यसको काम अघि बढाइएको जानकारी दिनुभयो । गोरखापत्र देशकै अमूल्य सम्पत्ति भएकाले यसका हरेक अङ्कलाई जीवित बनाउन पनि डिजिटल अर्काइभ आवश्यक छ । उहाँले गोरखापत्रका पुराना सबै प्रकाशनलाई आफ्नो
स्वामित्व ल्याउने गरी सम्झौताको काम अघि बढाइएको जानकारी पनि दिनुभयो । भविष्यमा गोरखापत्रको डिजिटल अर्काइभमार्फत नै आम्दानी गर्न सकिने ढाँचामा पनि योजना बनाइरहेको उहाँले बताउनुभयो ।
उहाँले संस्थाका प्रकाशनलाई समयसापेक्ष प्रविधिसँग जोड्नका लागि स्मार्ट गोरखापत्र भन्ने नाराका साथ कामहरू अघि बढाइ गोरखापत्रको पहिलोदेखि हालसम्मको अङ्कलाई डिजिटाइज अकाईभमा राख्ने काम अघि बढाइएको बताउनुभयो । उहाँले १९५८ देखि २०२७ सालसम्मको अङ्क राष्ट्रिय अभिलेखालय, २०२७ देखि २०३२ सालसम्मको मदन पुस्तकालय र २०३२ देखि हालसम्मको अङ्क प्रेस काउन्सिलसँग रहेको र संस्थानसँग रहेका दस्तावेजलाई सबै निकायसँग मिलेर सबै प्रकाशनका सामग्रीलाई डिजिटाइज अकाईभमा ल्याइने बताउनुभयो । कार्यक्रममा गोरखापत्रका प्रधान सम्पादक शिवकुमार भट्टराईले १२१ वर्षको गोरखापत्रको इतिहासलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न डिजिटल अर्काइभ महìवपूर्ण हुने र यसबाट सम्पूूर्ण देशले नै फाइदा लिन सक्ने विश्वास व्यक्त गर्नुुभयो ।
बुधबारसम्म चल्ने कार्यशालामा मार्टिन चौतारीका अनुसन्धाता डा. हर्षमान महर्जनले पत्रपत्रिकाको डिजिटाइजेसनको अवस्था र गोरखापत्रको अबको बाटो, राष्ट्रिय अभिलेखालयका सूचना अधिकारी कुमार श्रेष्ठले राष्ट्रिय अभिलेखालयमा गोरखापत्रको सङ्कलन, व्यवस्थापन तथा डिजिटाइजेसन, त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले गोरखापत्रको डिजिटल अकाईभलाई कसरी पाठकमैत्री बनाउने भन्ने विषयमा काठमाडौँ विश्वविद्यालयका कम्प्युटर साइन्स तथा इन्जिनियर विभाग प्रमुख डा. बालकृष्ण बल, पुल्चोक क्याम्पसका उपप्राध्यापक डा. बाबुराम दवाडीले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।