गोरखापत्र कर्मचारीलाई खरिद प्रणाली तालिम

गोरखापत्र समाचारदाता

काठमाडौं, पुस ५ गते । गोरखापत्रका कर्मचारीलाई एक दिवसीय सार्वजनिक खरिद प्रणाली विषयमा प्रशिक्षण दिइएको छ । खरिद प्रणालीका विज्ञ शंकरकृष्ण श्रेष्ठले कर्मचारीलाई प्रशिक्षण दिनुभयो । प्रशिक्षणमा गोरखापत्र संस्थानका सञ्चालक समिति सदस्य, विभिन्न विभाग, शाखाका प्रमुख तथा प्रतिनिधि गरी २२ जनाको सहभागिता थियो । प्रशिक्षक श्रेष्ठले योजना बनाउँदा कछुवाको गतिमा बनाउनुपर्ने तर कार्यान्वयन खरायोको गतिमा गर्नुपर्ने बताउनुभयो । तर नेपालको परिस्थितिमा ठीक उल्टो भइरहेको उहाँले तर्क गर्नुभयो ।

 सार्वजनिक खरिद ऐन २०६३ मा भएको प्रावधान तथा कार्यालयका लागि आवश्यक सामग्री खरिद गरिदा गर्नुपर्ने प्रक्रिया र होसियारीबारे जानकारी गराउनुभएको थियो । कुनै पनि संस्था सफल हुन विभाग–शाखा तथा अन्य निकायबीचको समन्वय र समझदारी आवश्यक हुने र संस्थाकालागि निस्वार्थ तथा इमान्दारितापूर्वक काम गरेमात्र संस्था सफल हुने श्रेष्ठले सुझाव दिनुभयो ।

 गुणस्तरीय सामानसँग सम्झौता गर्दा नै भ्रष्टाचारको शुरुवात हुनेहुँदा कर्मचारीहरु त्यसमा सतर्क हुनुपर्ने श्रेष्ठले सुझाउनुभयो । संस्था सुधारका लागि नेतृत्वले लठ्ठी लिएर भन्दा पनि प्रणाली बसाएर काम गर्न आवश्यक रहेको भन्दै उहाँले कर्मचारीहरु जिम्मेवार, कानूनप्रति जवाफदेही, उच्च नैतिक, पेशाप्रति निष्ठावान, पारदर्शी र उत्तरदायी हुनुपर्ने बताउनुभयो ।संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले प्रशिक्षणले कर्मचारीको काममा चुस्तता ल्याउने विश्वास व्यक्त गर्नुभयो । गोरखापत्र संस्थानको समस्या कर्मचारी स्वयम्ले गर्नुपर्ने भएकाले आफूलाई समयअनुकुल प्रविधिमैत्री तथा प्रशिक्षित गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

 कार्यक्रममा संस्थानका विज्ञ सल्लाहकार, गोरखापत्र दैनिकका प्रधान सम्पादक श्रीओम श्रेष्ठसहितले प्रशिक्षणले कर्मचारीको काम गर्ने सोच, तौरतरिका र मनोबल बढाएको बताउनुभयो । लामो समयपछि विषय केन्द्रीत प्रशिक्षण आयोजना भएकोभन्दा प्रशिक्षार्थीले व्यवस्थापनलाई धन्यवाद दिनुभयो ।

लक्की चौधरी